पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक पक्राउ, रातभर प्रहरी हेडक्वाटरमा बसेका थिए गृहमन्त्री सुधन

१४ चैत, काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरूङको कडा अडान र सक्रियतापछि नेपालको राजनीतिमा एउटा ठूलो हलचल पैदा भएको छ । शुक्रबार पदभार ग्रहण गरेकै रातभर प्रहरी प्रधान कार्यालय नक्सालमा बसेर गृहमन्त्री सुधनले पक्राउको योजना र कानूनी कागजात तयार पारेपछि शनिबार बिहान झिसमिसेमै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् ।

पदभार ग्रहणदेखि पक्राउको आदेशसम्म
शुक्रबार मन्त्रालयको पदभार सम्हाल्दै गृहमन्त्री सुधनले कर्मचारी र सुरक्षा निकायलाई स्पष्ट निर्देशन दिएका थिए— ‘मन्त्रिपरिषद्को निर्णयपछि प्रतिवेदन कार्यान्वयन हुन्छ ।’ उनले विशेषगरी २०८२ भदौ २३ र २४ गते भएको ‘जेनजी’ (Gen-Z) आन्दोलनमा भएको ज्यान गुमाउने घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने संकेत गरेका थिए ।

पदभार ग्रहण लगत्तै उनी आफैं कार चलाएर मन्त्रिपरिषद् बैठक पुगेका थिए, जहाँ कार्की आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने ऐतिहासिक निर्णय भयो । सो निर्णयलगत्तै उनले नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरीका आईजीपी राजु अर्यालसँग मन्त्रालयमा दुई घण्टा परामर्श गरे ।

रातभर प्रहरी हेडक्वाटरमा रणनीतिक बैठक
राति साढे ८ बजे सुरक्षा निकायहरूलाई ‘स्ट्याण्डबाई’ रहन सर्कुलर जारी गरिएपछि नक्सालस्थित आईजीपी निवासमा उच्चस्तरीय बैठक सुरु भएको थियो । बैठकमा गृहमन्त्री सुधन, गृहसचिव राजकुमार श्रेष्ठ र सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति थियो । छलफलका क्रममा प्रहरीले सम्भावित सुरक्षा चुनौती र कानूनी प्रक्रियाका लागि आइतबार अदालत खुलेसम्म पर्खिन सुझाव दिएको थियो । तर, गृहमन्त्री सुधनले ‘जसरी पनि तत्काल पक्राउ गर्नुपर्ने’ अडान लिएपछि कानूनी परामर्शका लागि कानून सचिव पाराश्वर ढुंगानालाई समेत हेडक्वाटर बोलाइएको थियो । अन्ततः रातको १:३० बजेतिर लिखित आदेश तयार भएपछि पक्राउ प्रक्रिया अघि बढेको हो ।

कसरी भए पक्राउ?
प्रहरीले शुक्रबार साँझदेखि नै ओली निवास (गुण्डु) र लेखक निवास (कटुन्जे) मा निगरानी बढाएको थियो ।

रमेश लेखक: बिहान ५:४५ बजे उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनकै निवासबाट नियन्त्रणमा लियो । केपी शर्मा ओली: बिहान ६:१० बजे एसएसपी सन्तोष खड्का नेतृत्वको टोलीले ओलीलाई पक्राउ गरेको थियो । पक्राउ परेका दुवै नेतालाई हाल जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको छ भने ओलीलाई स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । शनिबार सार्वजनिक बिदा भएकाले उनीहरूलाई आजै अदालत उपस्थित गराउन सम्भव नभएकाले आज रातभर हिरासतमा राखिने सम्भावना छ ।

“कानूनभन्दा माथि कोही छैन” – गृहमन्त्री
पक्राउ लगत्तै गृहमन्त्री सुधनले सामाजिक सञ्जालमार्फत न्यायको सुरुवात भएको घोषणा गरेका छन् । उनले लेखेका छन्: “प्रमिश इज अ प्रमिश: कानूनभन्दा माथि कोही छैन । यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो । मलाई विश्वास छ, मेरो देशले नयाँ दिशा लिनेछ ।” एमालेको विरोध यता, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने यो कदमलाई प्रतिशोधपूर्ण भन्दै आन्दोलनको तयारी गरेको बुझिएको छ । गत भदौमा भएको जेनजी आन्दोलनमा राज्यले ‘हेलचेक्राइ’ गरी ज्यान मारेको अभियोगमा यी दुई शीर्ष नेताहरूमाथि अनुसन्धान सुरु गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *