सिपाघाट, काभ्रेपलाञ्चोक
काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका-६, कालिकास्थानमा स्थानीय महिला तथा युवाहरूलाई लक्षित गरी सञ्चालन गरिएको ‘मखमली जुत्ता बनाउने तालिम’ सम्पन्न भएको छ।
नेपाल-भारत मैत्री संघ जिल्ला शाखा, काभ्रेको संयोजन र नेपाल-भारत मैत्री संघ केन्द्रको विशेष सहयोगमा उक्त तालिम सञ्चालन गरिएको हो। गत जेठ १० गतेदेखि असार ६ गतेसम्म चलेको सो तालिममा कालिकास्थान आसपासका १५ जना सहभागीले जुत्ता बनाउने सीप सिकेका छन्। तालिममा प्रशिक्षक अर्जुन परियारले सहभागीहरूलाई जुत्ता निर्माणका विभिन्न प्रविधि र सीपबारे व्यावहारिक ज्ञान दिएका थिए।

तालिम समापनका अवसरमा आज आयोजित कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको छ। साथै, सहभागीहरूले तालिम अवधिभर आफैँले तयार पारेका जुत्ता र चप्पलहरू मायाको चिनोका रूपमा उपस्थित अतिथिहरूलाई प्रदान गरेका थिए।
नेपाल-भारत मैत्री संघका केन्द्रीय अध्यक्ष शैलेन्द्र मोहन झाको प्रमुख आतिथ्यता तथा काभ्रे शाखाका अध्यक्ष विश्वराम श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा वडा नं ६ का वडाध्यक्ष सोम प्रसाद ढकाल, संघका केन्द्रीय कोषाध्यक्ष, काभ्रे शाखाका उपाध्यक्ष प्रेमकाजी पोटे, सदस्यहरू रमेश ढकाल, बलराम डोटेल, समाजसेवी कुबेरकाजी श्रेष्ठलगायतको उपस्थिति थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले यस्ता सीपमूलक तालिमले गाउँघरमै बसेर आर्थिक उपार्जन गर्न र स्वरोजगार बन्न ठूलो मद्दत पुग्ने बताए। अध्यक्ष झाका अनुसार, यस्ता सीपमूलक कार्यक्रमहरू अन्य स्थानमा पनि सञ्चालन गर्न स्थानीय समुदाय इच्छुक रहेमा संघले आगामी दिनमा पनि निरन्तर सहकार्य गर्नेछ।
नेपाल-भारत मैत्री संघ काभ्रे शाखाका सचिव सूर्य प्रसाद ढकालले सञ्चालन गरेको उक्त कार्यक्रमले स्थानीय स्तरमा उद्यमशीलताको विकासमा टेवा पुग्ने विश्वास लिइएको छ।




