काठमाडौं । पछिल्लो समय ह्वाट्सएप (WhatsApp) अकाउन्ट ह्याक गरी रकम ठगी गर्ने गिरोह सक्रिय भएपछि नेपाल प्रहरीको साइबर ब्युरोले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ ।
ह्याकरहरूले व्यक्तिको ह्वाट्सएप नियन्त्रणमा लिएर निजका आफन्त तथा साथीभाइलाई आफू समस्यामा परेको भन्दै म्यासेज पठाउने र पैसा माग्ने गरेको पाइएको छ। ब्युरोका अनुसार बैंकिङ एपमा समस्या आएको बहाना बनाउँदै क्यूआर कोड (QR Code) पठाएर रकम माग गर्ने नयाँ शैलीको ठगी भइरहेको छ ।
ब्युरोका प्रवक्ता दीपकराज अवस्थीले जारी गरेको सूचनामा ह्वाट्सएपमा कसैले पैसा मागेमा तुरुन्त विश्वास नगर्न र सम्बन्धित व्यक्तिलाई प्रत्यक्ष फोन गरेर मात्रै वास्तविकताबारे यकिन गर्न आग्रह गरिएको छ ।

सुरक्षाका लागि प्रयोगकर्ताले आफ्नो अकाउन्टमा ‘Two-Step Verification’ अनिवार्य रूपमा सुचारु गर्नुपर्ने ब्युरोको सुझाव छ। यसका साथै, अपरिचित व्यक्तिले पठाएका शंकास्पद लिंकमा क्लिक नगर्न, फाइलहरू डाउनलोड नगर्न र आफ्नो मोबाइलमा आउने ओटीपी (OTP) कोड कसैलाई पनि सेयर नगर्न साइबर ब्युरोले सचेत गराएको छ ।
प्रविधिको प्रयोग गर्दा थोरै मात्र सावधानी अपनाउन सके यस्ता डिजिटल ठगीबाट जोगिन सकिने प्रहरीको भनाइ छ ।
