मेसीको ह्याट्रिक, एम्बाप्पे र हालाण्डको कमालपछि रोनाल्डोको परीक्षा
काठमाडौँ । फिफा विश्वकप २०२६ सुरु हुनुअघि नै विश्व फुटबलका केही सुपरस्टारमाथि सबैको नजर थियो। फ्रान्सका किलियन एम्बाप्पे, अर्जेन्टिनाका लियोनल मेसी, नर्वेका एर्लिङ हालाण्ड र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो प्रतियोगिताका सबैभन्दा चर्चित खेलाडीका रूपमा हेरिएका थिए।
विश्वकपको सुरुआती खेलहरूमै एम्बाप्पे, मेसी र हालाण्डले उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो प्रभाव देखाइसकेका छन्। अब भने फुटबलप्रेमीहरूको ध्यान पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोतर्फ केन्द्रित भएको छ, जसले आज राति डीआर कंगोविरुद्ध विश्वकप अभियान सुरु गर्दैछन्।
फ्रान्सले सेनेगललाई ३–१ ले पराजित गर्दा एम्बाप्पेले दुई गोल गर्दै नयाँ कीर्तिमान कायम गरे। उनले फ्रान्सका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीको कीर्तिमान बनाउनुका साथै विश्वकपमा फ्रान्सका तर्फबाट सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा पनि शीर्ष स्थान कब्जा गरे।
यता, २८ वर्षपछि विश्वकपमा फर्किएको नर्वेको शानदार जितमा एर्लिङ हालाण्डले दुई गोल गर्दै आफ्नो टोलीलाई ४–१ को जित दिलाए। विश्वकप डेब्यु खेलमै दुई गोल गरेका हालाण्डले अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो प्रभावशाली यात्रा थप मजबुत बनाएका छन्।
साविक विजेता अर्जेन्टिनाको जितमा भने लियोनल मेसी नायक बने। उनले अल्जेरियाविरुद्ध ह्याट्रिक गर्दै अर्जेन्टिनालाई ३–० को सहज जित दिलाए। योसँगै मेसी विश्वकपका ६ संस्करण खेल्ने पहिलो फुटबलर बनेका छन्। साथै उनले विश्वकप इतिहासमा लगातार पाँच खेलमा गोल गर्ने नयाँ कीर्तिमान पनि आफ्नो नाममा लेखाए।
अब सबैको चासो क्रिस्टियानो रोनाल्डोमाथि छ। ४१ वर्षीय रोनाल्डोका लागि यो सम्भवतः अन्तिम विश्वकप हुन सक्छ। आज डीआर कंगोविरुद्ध मैदान उत्रँदा उनी विश्वकपमा पोर्चुगलका लागि सर्वाधिक गोल गर्ने युसेबियोको कीर्तिमान तोड्ने अवसरमा रहनेछन्।
रोनाल्डोलाई युसेबियोलाई उछिन्न थप दुई गोल आवश्यक छ। यदि उनले आजको खेलमा दुई गोल गर्न सके भने पोर्चुगलका महान् खेलाडी युसेबियोलाई पछि पार्दै नयाँ इतिहास रच्नेछन्। त्यसैले आजको खेल केवल पोर्चुगलको विश्वकप यात्रा सुरु गर्ने अवसर मात्र नभई रोनाल्डोका लागि अर्को ऐतिहासिक उपलब्धि हासिल गर्ने मौका पनि बनेको छ।









प्रतिक्रिया
आफ्नो प्रतिक्रिया दिनुहोस्