एसीसी प्रिमियर कपमा नेपालको पहिलो हार, हङकङसँग १५ रनले पराजित

२६२ रनको लक्ष्य पछ्याएको नेपाल २४६ रनमै अलआउट, हारका बाबजुद समूह विजेता बन्दै सेमिफाइनलमा

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले समूह चरणको अन्तिम खेलमा हङकङसँग १५ रनको हार व्यहोरेको छ। क्वालालाम्पुरस्थित बायुमास ओभलमा भएको खेलमा २६२ रनको लक्ष्य पछ्याएको नेपाल ४९.१ ओभरमा २४६ रनमा अलआउट भयो।

हारसँगै नेपालले प्रतियोगितामा पहिलो पटक पराजय भोगेको हो। यद्यपि, यसअघि नै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको नेपाल समान ६ अंक भएका टोलीमध्ये उत्कृष्ट रनरेटका आधारमा समूह विजेता बनेको छ।

हङकङले दिएको लक्ष्य पछ्याउने क्रममा नेपालका लागि इशान पाण्डेले सर्वाधिक ९० रन बनाए। उनले उत्कृष्ट ब्याटिङ गरे पनि टोलीलाई जित दिलाउन सकेनन्। आशिफ शेखले ४४, दीपेन्द्र सिंह ऐरीले २५, करण केसीले २१ तथा गुलशन झाले २० रन जोडे।

नेपालको इनिङ्स ध्वस्त पार्ने क्रममा हङकङका अइजज खानले चार विकेट लिए। यसिम मुर्ताजाले दुई तथा किन्चित देवांग सिंह, नुसरुल्ला राणा र अतिकुल इकबालले समान एक–एक विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २६१ रन बनाएको थियो।

हङकङका लागि बाबर हयातले अविजित ११७ रनको शतकीय पारी खेले। शाहिद वसिफले ४५ तथा जिशन अलीले १५ रन बनाए। एहसान खान ३५ रनमा अविजित रहे।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले चार विकेट लिए भने शेर मल्लले तीन विकेट हात पारे।

प्रतियोगिताको समूह चरणमा नेपालले यसअघि बहराइनलाई ७ विकेट, आयोजक मलेसियालाई ६ विकेट तथा साउदी अरेबियालाई ५ विकेटले पराजित गरेको थियो। हङकङसँगको हारका बाबजुद समूह चरणमा ६ अंक जोड्दै नेपाल शीर्ष स्थानमा रहन सफल भएको हो।

अब नेपालले प्रतियोगिताको सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ।

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको विचार र सुझाव सभ्य भाषामा लेख्नुहोस्।