भोटेकोशी–त्रिशूली बाढीले ३ खर्ब ८७ अर्बको क्षति, पुनःस्थापनाका लागि ७ अर्ब ९५ करोड आवश्यक
काठमाडौं । रसुवाको भोटेकोशीसहित विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोले मुलुकमा ठूलो आर्थिक क्षति पुर्याएको प्रारम्भिक मूल्याङ्कनले देखाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीपहिरोबाट विभिन्न क्षेत्रमा ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
प्राधिकरणले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार बाढीले भवन तथा बस्ती, सडक र पुल, स्वास्थ्य तथा पोषण, शिक्षा, कृषि तथा पशुपन्छी, ऊर्जा, विद्युत् र दूरसञ्चारलगायतका क्षेत्रमा ठूलो क्षति पुर्याएको छ।
प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले प्रारम्भिक क्षतिको विवरण संकलनसँगै प्रभावित क्षेत्रको तत्काल पुनःस्थापनाका लागि आवश्यक स्रोतको समेत आकलन गरिएको जानकारी दिएका छन्।
उनका अनुसार आगामी चार महिनाको ‘अर्ली रिकभरी’ अर्थात् प्रारम्भिक पुनःस्थापनाका लागि मात्रै ७ अर्ब ९५ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ।
प्राधिकरणले यो रकम भवन तथा आवास पुनःस्थापना, पुल तथा सडक, स्वास्थ्य, शिक्षा, कृषि, ऊर्जा र दूरसञ्चारलगायतका क्षेत्रमा तत्काल आवश्यक पर्ने कामका लागि अनुमान गरेको हो। प्रारम्भिक मूल्याङ्कन भएकाले विस्तृत क्षति तथा आवश्यकता मूल्याङ्कनपछि वास्तविक लागत अझ स्पष्ट हुने जनाइएको छ।
उद्धारसँगै क्षतिको विवरण संकलन तीव्र
विपद्पछि खोजी तथा उद्धार, राहत वितरण र क्षतिको विवरण संकलनलाई एकसाथ अघि बढाइएको प्राधिकरणले जनाएको छ।
बिहीबार मात्रै उत्तरी सीमावर्ती क्षेत्रबाट एक चिनियाँ नागरिकसहित ११४ जनाको उद्धार गरी काठमाडौं ल्याइएको थियो। अन्य प्रभावित क्षेत्रबाट थप २० जनाको समेत उद्धार गरिएको जनाइएको छ।
पछिल्लो विवरणअनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म १२ हजार ३८ जनाको सकुशल उद्धार गरिएको छ। सुरक्षाकर्मीले अझै उद्धार तथा खोजी कार्यलाई निरन्तरता दिइरहेका छन्।
१ हजार २५९ शव फेला, ५ हजारभन्दा बढी सम्पर्कविहीन
भोटेकोशी तथा त्रिशूली क्षेत्रमा आएको बाढीको मानवीय क्षति पनि भयावह बनेको छ।
प्राधिकरणका अनुसार बाढीमा परी हालसम्म १ हजार २५९ जनाको शव फेला परेको छ। तीमध्ये ९५ शवको सनाखत गरी आफन्तलाई बुझाइसकिएको विवरण सार्वजनिक गरिएको छ।
यसैगरी ५ हजार ८३ जना अझै सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। हराइरहेका व्यक्तिको खोजीका लागि सुरक्षा निकाय तथा अन्य उद्धार टोली परिचालन भइरहेका छन्।
तत्काल राहतपछि पुनःस्थापनाको चुनौती
विपद्को तत्कालीन चरणमा उद्धार, राहत र विस्थापितको व्यवस्थापन मुख्य चुनौती बने पनि अब प्रभावित क्षेत्रलाई सामान्य अवस्थामा फर्काउने काम थप कठिन देखिएको छ।
ठूला पूर्वाधारमा भएको क्षति, विस्थापित नागरिकको पुनःस्थापना, कृषि तथा व्यवसायमा परेको असर र विद्युत् तथा सञ्चार संरचनाको पुनर्निर्माणका लागि ठूलो स्रोत आवश्यक पर्ने देखिएको छ।
प्राधिकरणले प्रारम्भिक रूपमा सार्वजनिक गरेको ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँको क्षति अन्तिम तथ्याङ्क भने होइन। विस्तृत क्षति मूल्याङ्कन तथा विपद्पछिको आवश्यकता मूल्याङ्कनपछि मात्रै बाढीले पुर्याएको वास्तविक क्षति र दीर्घकालीन पुनर्निर्माणका लागि आवश्यक बजेटको यकिन हुने बताइएको छ।
यसबीच, सरकारले उद्धार र राहतसँगै अब प्रभावित नागरिकको सुरक्षित पुनःस्थापना, क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण र प्रभावित क्षेत्रको आर्थिक गतिविधि पुनःसञ्चालनलाई प्राथमिकतामा राख्नुपर्ने देखिएको छ।









प्रतिक्रिया
आफ्नो प्रतिक्रिया दिनुहोस्