‘यो एक अर्कालाई दोषारोपण गर्ने वा राजनीतिक विवादमा अल्झिने समय होइन, राष्ट्रिय एकता र पुनरुत्थानको समय हो’
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्राकृतिक विपत्तिको कठिन घडीमा सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज र आम नागरिकलाई एकताबद्ध भएर उद्धार तथा राहतमा जुट्न आह्वान गरेका छन्।
मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै हराइरहेका व्यक्तिको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिन सरकारको ध्यानाकर्षण गराएका हुन्।
उनले कठिन भौगोलिक अवस्था, क्षतिग्रस्त सडक तथा अस्थिर र जोखिमपूर्ण परिस्थितिलाई हराइरहेका व्यक्तिको खोजी तथा उद्धार रोक्ने कारण बनाउन नहुनेमा जोड दिए।
‘कठिन भौगोलिक अवस्था, क्षतिग्रस्त सडक र अस्थिर एवम् जोखिमपूर्ण परिस्थिति हराइरहेका व्यक्तिहरूको खोजी तथा उद्धार कार्यलाई अवरुद्ध गर्ने वा परित्याग गर्ने कारण बन्नुहुँदैन,’ राष्ट्रपति पौडेलले भने।
राजनीतिक विवादमा अल्झिने समय होइन
राष्ट्रपति पौडेलले विपत्तिको समयमा एकअर्कालाई दोषारोपण गर्ने वा राजनीतिक विवाद र टकरावमा अल्झिनुभन्दा राष्ट्रिय एकता र ऐक्यबद्धता प्रदर्शन गर्नुपर्ने बताए।
‘यो विभाजनको समय होइन । यो राष्ट्रिय एकता तथा ऐक्यबद्धता प्रदर्शन गर्ने समय हो,’ उनले भने।
उनले पुनर्निर्माण, पुनःस्थापना तथा आर्थिक पुनरुत्थानको प्रक्रियामा अघि बढ्दै गर्दा नेपालको विकास मोडेलमाथि समेत पुनर्विचार गर्नुपर्ने आवश्यकता औँल्याए।
मृतकप्रति श्रद्धाञ्जली, पीडित परिवारमा समवेदना
बाढीमा परी ज्यान गुमाएका नेपाली तथा विदेशी नागरिकप्रति राष्ट्रपति पौडेलले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे।
हराइरहेका नागरिकका परिवारलाई खोजी तथा उद्धार कार्य निरन्तर जारी रहने विश्वास दिलाउँदै उनले प्रभावित नागरिकलाई राज्यको साथ र भरोसा आवश्यक रहेको बताए।
नेपालमा कार्यरत, पर्यटक, हिमाली क्षेत्रमा पदयात्रामा रहेका वा आध्यात्मिक यात्राका क्रममा नेपालमा रहेका विदेशी नागरिकले विपत्तिमा ज्यान गुमाएको उल्लेख गर्दै उनले उनीहरूका परिवारप्रति समेत नेपालका तर्फबाट समवेदना व्यक्त गरे।
उद्धारकर्मीको साहसको प्रशंसा
राष्ट्रपतिले जोखिमपूर्ण अवस्थामा उद्धार तथा राहतमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि, कर्मचारी, स्वयंसेवक तथा विभिन्न संघसंस्थाको योगदानको प्रशंसा गरे।
आफ्नो ज्यानको समेत पर्वाह नगरी उद्धारमा खटिएकाहरूको अदम्य साहस, समर्पण र सेवाभावले नेपालको मानवीय भावना तथा राष्ट्रिय चरित्रलाई प्रतिनिधित्व गरेको उनले बताए।
पीडितलाई सुरक्षित आश्रयदेखि मनोसामाजिक सेवासम्म
राष्ट्रपति पौडेलले उद्धार गरिएका तथा प्रभावित नागरिकका लागि खाद्यान्न, स्वच्छ खानेपानी, सुरक्षित आश्रय, आवश्यक औषधोपचार र मनोसामाजिक सेवाको पहुँच सुनिश्चित गर्न सरकारलाई आग्रह गरेका छन्।
विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला तथा विशेष संरक्षण आवश्यक पर्ने नागरिकप्रति थप संवेदनशील हुनुपर्ने उनको भनाइ छ।
अस्थायी आश्रयस्थल सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनुपर्नेमा समेत उनले जोड दिए।
मृतकको पहिचानमा डीएनए प्रक्रियामा जोड
राष्ट्रपति पौडेलले विपत्तिमा ज्यान गुमाएका नागरिकको पहिचान अत्यन्त सावधानी, संवेदनशीलता र जिम्मेवारीका साथ गर्नुपर्ने बताए।
आवश्यकताअनुसार डीएनए नमुना तथा अन्य सम्बन्धित अभिलेख सुरक्षित राखी मृतकको पहिचान प्रक्रियालाई विश्वसनीय र व्यवस्थित बनाउन सरकारको ध्यान जानुपर्ने उनले बताए।
विदेशी नागरिकको हकमा सम्बन्धित देशका सरकार तथा कूटनीतिक नियोगसँग सहकार्य गरी परिवारलाई यथार्थ र विश्वसनीय सूचना उपलब्ध गराउन तथा आवश्यक मानवीय सहजीकरण गर्नुपर्ने उनले उल्लेख गरे।
‘पीडितका गुनासालाई आलोचना होइन, समाधानको संकेत मानौँ’
प्राकृतिक विपत्तिका कारण घरबारविहीन, विस्थापित तथा आफन्त गुमाएका नागरिकको पीडा गहिरो रहेको भन्दै राष्ट्रपति पौडेलले सरकार, राजनीतिक दल र नागरिक संघसंस्थालाई पीडितको साथमा उभिन आग्रह गरे।
उनले पीडितका गुनासा तथा मागलाई आलोचनाका रूपमा नभई समस्या समाधानका लागि प्राप्त महत्वपूर्ण संकेतका रूपमा ग्रहण गर्न सरकार तथा सम्बन्धित निकायलाई आग्रह गरे।
‘नेपालजस्ता प्रभावित राष्ट्रको आवाज सुनिनुपर्छ’
सम्बोधनका क्रममा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनका कारण नेपालजस्ता पारिस्थितिकीय रूपमा संवेदनशील मुलुकले बढ्दो जोखिम सामना गर्नुपरेको उल्लेख गरे।
नेपालको हिमाली पर्यावरणको नाजुक अवस्था र विश्वव्यापी तापक्रम वृद्धिबाट सिर्जित जोखिमप्रति अन्तर्राष्ट्रिय समुदाय गम्भीर हुनुपर्ने उनको भनाइ छ।
उनले नेपाललगायत पारिस्थितिकीय रूपमा प्रभावित राष्ट्रहरूको आवाज सुन्न र जलवायु न्याय सुनिश्चित गर्न ठोस तथा प्रभावकारी कदम चाल्न अन्तर्राष्ट्रिय समुदायसँग आह्वान गरे।
राहतमा सहयोग गर्ने देश तथा संस्थालाई धन्यवाद
राष्ट्रपति पौडेलले विपत्तिपछि खोज तथा उद्धार जनशक्ति, प्राविधिक विशेषज्ञ, चिकित्सकीय टोली तथा आवश्यक उपकरण उपलब्ध गराउँदै सहयोग गर्ने छिमेकी मित्रराष्ट्र र अन्तर्राष्ट्रिय समुदायप्रति आभार व्यक्त गरे।
उनले विगतमा भूकम्प, बाढी, पहिरो, महामारीलगायतका विपत्तिको सामना गर्दै नेपाली जनताले देखाएको साहस, धैर्य, संयम र दृढताबाट वर्तमान संकट पनि पार गर्न सकिने विश्वास व्यक्त गरे।
सम्बोधनको अन्त्यमा राष्ट्रपति पौडेलले सम्पूर्ण राजनीतिक दल, निर्वाचित जनप्रतिनिधि, नागरिक समाज, मानवीय सहायता तथा उद्धारमा संलग्न संघसंस्था, निजी क्षेत्र, व्यवसायी समुदाय र आम नागरिकलाई एकताबद्ध भएर विपत्तिको सामना गर्न आह्वान गरेका छन्।
