Advertisement

मधेश आन्दोलनको निर्मम समीक्षा गरौँ, नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गरौँ

शहीद परिवारको सम्मान गर्दै जनकपुरमा ‘मधेशको अबको बाटो’बारे बहस

जनकपुरधाम । मधेश आन्दोलनका शहीदहरूको योगदान र बलिदानलाई राज्य तथा राजनीतिक नेतृत्वले बिर्सिँदै गएको भन्दै जनकपुरधाममा आयोजित एक कार्यक्रमका सहभागीहरूले असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूले आन्दोलनपछि मधेशका शीर्ष नेताहरू पटक–पटक सत्तामा पुगे पनि शहीदका परिवार तथा आन्दोलनका मूल मुद्दालाई अपेक्षित प्राथमिकता नदिएको भन्दै गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन्।

शहीद संजय चौधरी स्मृति प्रतिष्ठानको आयोजनामा बिहीबार जनकपुरधाममा शहीद संजय चौधरी, नितु यादव र दिलिप यादवको स्मृतिमा विभिन्न कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रमअन्तर्गत बिहान शहीद गेटमा रहेका शहीदका सालिकमा माल्यार्पण तथा सरसफाइ गरिएको थियो। त्यसपछि जनकपुरधामस्थित रौनियार धर्मशालामा दिउँसो १ बजेदेखि पुण्यतिथि तथा ‘मधेशको अबको बाटो’ विषयक संवाद कार्यक्रम सञ्चालन गरिएको थियो।

कार्यक्रममा प्रतिष्ठानले धनुषा, महोत्तरी र सर्लाही जिल्लाका शहीद परिवारलाई सम्मान गरेको थियो। मधेश आन्दोलनमा सहभागी सामाजिक अभियन्ता, युवा तथा स्थानीय राजनीतिक नेतृत्वलाई समेत सम्मान गरिएको थियो।

संवाद कार्यक्रममा सहभागी वक्ताहरूले मधेश आन्दोलनका उपलब्धि, कमजोरी तथा आन्दोलनपछि विकसित राजनीतिक परिस्थितिको निर्मम समीक्षा आवश्यक रहेकोमा जोड दिए। उनीहरूले आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको योगदानलाई राजनीतिक नेतृत्वले उचित रूपमा स्मरण र सम्मान गर्न नसकेको गुनासो गरे।

वक्ताहरूले मधेशका राजनीतिक नेतृत्वले विगतका कमजोरीबाट पाठ सिक्दै आफूलाई सच्याउनुपर्ने र नेतृत्वमा पुस्तान्तरणको प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखे। उनीहरूका अनुसार मधेशको आगामी राजनीतिक दिशा तय गर्न नयाँ पुस्ताको सहभागिता र नेतृत्वलाई प्राथमिकता दिनुपर्ने अवस्था आएको छ।

पछिल्ला निर्वाचनमा जनताबाट देखिएको असन्तुष्टिलाई राजनीतिक नेतृत्वले गम्भीर रूपमा लिनुपर्ने सहभागीहरूको भनाइ थियो। मधेशका सबै जिल्लामा यस्ता संवाद तथा समीक्षा कार्यक्रम निरन्तर सञ्चालन गर्दै आन्दोलनका उपलब्धि, कमजोरी र आगामी रणनीतिबारे खुला बहस गर्नुपर्नेमा उनीहरूले जोड दिए।

मधेशको अधिकार, पहिचान र सम्मानका लागि जीवन बलिदान गरेका शहीदहरूको योगदानलाई निरन्तर स्मरण गर्नुपर्ने बताउँदै सहभागीहरूले शहीदहरूले उठाएका मुद्दा र देखाएको बाटोप्रति इमानदार रहनु नै उनीहरूप्रतिको वास्तविक सम्मान हुने धारणा व्यक्त गरे।

कार्यक्रम शहीद संजय चौधरी स्मृति प्रतिष्ठानकी अध्यक्ष तथा शहीद संजय चौधरीकी बहिनी ममता चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन सामाजिक अभियन्ता संजय यादवले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *