२०८३ भाद्र २८, आइतवार
17:03
काठमाडौं, नेपाल

कांग्रेस कार्यसम्पादन समिति बैठक आज, महाधिवेशन र आन्तरिक एकतामा छलफल हुने

नेपालबिहानी १ घण्टा अगाडि

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ। बैठकमा आगामी १५औँ महाधिवेशनको तयारीलगायत पार्टीका विभिन्न समसामयिक विषयमा छलफल गरी आवश्यक निर्णय गरिने प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन्। बैठकमा कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यसँगै प्रदेश सभापतिहरूलाई अनिवार्य उपस्थितिका लागि आग्रह गरिएको छ।

असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने तय भएको १५औँ महाधिवेशनको तयारी अघि बढिरहेका बेला कांग्रेसभित्र आन्तरिक एकता र महाधिवेशनको कार्यतालिकालाई लिएर देखिएको विवाद समाधान गर्ने विषय पनि बैठकमा महत्वपूर्ण बन्ने देखिएको छ।

निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्ष महाधिवेशनमा सहभागी हुन सकारात्मक देखिएपछि सभापति गगन थापाले कार्यसम्पादन समिति बैठक बोलाएका हुन्। खड्का पक्षको मागअनुसार अध्यावधिक नगरेका क्रियाशील सदस्यलाई समेत महाधिवेशनमा सहभागी गराउने निर्णय कांग्रेसले यसअघि नै गरिसकेको छ। त्यस्तै, खड्काले सहमतिका लागि अघि सारेको प्रस्तावमा शेखर कोइरालासहित १११ जना नेताहरूलाई वर्तमान केन्द्रीय समितिमा समायोजन गर्नुपर्ने विषयसमेत समेटिएको थियो।

महाधिवेशनअघि पार्टीभित्र बृहत् एकता कायम गर्न उक्त माग सम्बोधन गर्ने विषयमा संस्थापन पक्ष सकारात्मक रहेको कांग्रेसका एक पदाधिकारीले बताएका छन्। यसैबीच खड्कानिकट ३१ जना नेताहरूले शुक्रबार पार्टीको सम्पूर्ण एकताका लागि अपिल गर्दै संस्थापन पक्ष र निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अघि सारेका छुट्टाछुट्टै कार्यतालिका स्थगित गरी सहमतिका आधारमा महाधिवेशन प्रक्रिया अघि बढाउन आग्रह गरेका थिए।

अपिल गर्ने नेताहरूमा निवर्तमान सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, निवर्तमान केन्द्रीय सदस्य रामहरि खतिवडा, मीनबहादुर विश्वकर्मा र नैनसिंह महरसहितका नेता छन्। नेता खतिवडाले आफूहरूले बृहत् एकताका लागि अपिल गरेपछि सभापति थापाले कार्यसम्पादन समिति बैठक बोलाएको जानकारी पाएको बताएका छन्। उनले पूर्वमहामन्त्री शशांक कोइराला पक्षबाट पनि सहमतिका लागि पहल हुनुपर्ने बताएका छन्।

कांग्रेसले असोज ३ गतेदेखि वडा अधिवेशन सुरु गर्ने तयारी गरेको छ भने निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले असोज १५ गतेदेखि वडा अधिवेशन गर्ने गरी छुट्टै कार्यतालिका अघि सारेको छ। दुई पक्षबीच देखिएको यही फरक कार्यतालिका र संगठनात्मक विषयलाई सहमतिमा टुंग्याउँदै निर्धारित समयमै महाधिवेशन सम्पन्न गर्ने वातावरण बनाउनु आजको बैठकको मुख्य चुनौतीका रूपमा देखिएको छ।

आजको बैठकले महाधिवेशनको तयारीसँगै क्रियाशील सदस्यता, नेताहरूको समायोजन, फरक कार्यतालिका र पार्टीभित्रको बृहत् एकताका विषयमा निर्णय लिने अपेक्षा गरिएको छ।

💬

प्रतिक्रिया

आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया छैन
आफ्नो प्रतिक्रिया दिनुहोस् तपाईंको विचार महत्वपूर्ण छ।

🔒 तपाईंको इमेल प्रकाशित गरिने छैन।