२०८३ भाद्र २८, आइतवार
15:13
काठमाडौं, नेपाल

जलविद्युत् आयोजनाका सुरुङमा १२१ जना फसेको सेनाको अनुमान, ‘ब्रेक थ्रु’ नभएसम्म खोजी जारी

नेपालबिहानी ५ दिन अगाडि

करिब ९ सय जना सम्पर्कविहीन भए पनि सबै सुरुङभित्र फसेका होइनन् : नेपाली सेना

काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित जलविद्युत् आयोजनाका सुरुङभित्र करिब १२१ जना फसेको देखिएको नेपाली सेनाले जनाएको छ। आयोजनासँग सम्बन्धित करिब ९ सय जना सम्पर्कविहीन रहेको विवरण आए पनि ती सबै सुरुङभित्र फसेका व्यक्ति नभएको सेनाले स्पष्ट पारेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली सेनाका सहायक रथी सुवासजंग थापाले उपलब्ध तथ्य तथा अवस्थाको विश्लेषण गर्दा सुरुङभित्र करिब १२१ जना फसेको देखिएको जानकारी दिएका हुन्।

सेनाका अनुसार आयोजनाबाट प्राप्त करिब ९ सय जनाको संख्या जलविद्युत् परियोजनासँग आबद्ध व्यक्तिको हो। उक्त संख्यालाई सुरुङभित्र फसेका व्यक्तिको संख्याका रूपमा बुझ्न नहुने सेनाको भनाइ छ।

‘ब्रेक थ्रु’ नभएसम्म खोजी रोकिँदैन

नेपाली सेनाले बाढीबाट क्षतिग्रस्त जलविद्युत् आयोजनाका सुरुङमा ‘ब्रेक थ्रु’ नभएसम्म खोज तथा उद्धार अभियान जारी राख्ने जनाएको छ।

सहायक रथी थापाका अनुसार सरकारले खोजी तथा उद्धार अभियान रोक्ने निर्णय नगरेसम्म सुरुङभित्रको खोजी जारी रहनेछ। सेनाले अहिले प्रभावित विभिन्न आयोजनामा सुरुङभित्र प्रवेश गरी लेदो हटाउने, बाटो बनाउने तथा सम्भावित स्थानमा खोजी गर्ने काम गरिरहेको छ।

११ जलविद्युत् आयोजना प्रभावित

भोटेकोशी बाढीबाट रसुवा र नुवाकोटका करिब ११ वटा जलविद्युत् आयोजना प्रभावित भएका छन्। रसुवागढी, रसुवा–भोटेकोशी, चिलिमे, माथिल्लो त्रिशूली–१, त्रिशूली–३ ए, त्रिशूली–३ बीलगायत आयोजनाका पावरहाउस तथा सुरुङ क्षेत्रमा खोज तथा उद्धार कार्य भइरहेको सेनाले जनाएको छ।

केही आयोजनामा नेपाली सेना, सशस्त्र प्रहरी, विदेशी उद्धारकर्मी तथा आयोजनासँग सम्बन्धित प्राविधिक टोलीसमेत परिचालन गरिएको छ। सुरुङभित्र जमेको लेदो हटाउन उत्खनन उपकरण तथा पम्पको प्रयोग भइरहेको छ।

केही व्यक्तिको जीवितै उद्धार

उद्धारका क्रममा केही व्यक्तिलाई सुरुङबाट जीवितै बाहिर निकालिएको सेनाले जनाएको छ। अपर त्रिशूली–१ को सुरुङबाट एक चिनियाँ नागरिकलाई जीवितै उद्धार गरिएको थियो भने त्रिशूली–३ ए आयोजनाको पावरहाउसबाट पनि दुई जनालाई जीवितै उद्धार गरिएको विवरण सार्वजनिक भएको छ।

सेनाका अनुसार बाढी तथा लेदो सुरुङभित्र अत्यन्त तीव्र गतिमा प्रवेश गरेकाले खोजी कार्य चुनौतीपूर्ण बनेको छ। प्रारम्भिक आकलनअनुसार बाढी र लेदो करिब १८० किलोमिटर प्रतिघण्टाको गतिमा आएको अनुमान गरिएको छ।

नेपाली सेना, सशस्त्र प्रहरी तथा विदेशी उद्धार टोलीले सुरुङ, पावरहाउस र प्रभावित क्षेत्रका अन्य संरचनामा खोजीलाई निरन्तरता दिइरहेका छन्। सेनाले सम्भावित सबै स्थानमा खोजी पूरा नगरेसम्म अभियान नरोकिने स्पष्ट पारेको छ।

💬

प्रतिक्रिया

आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया छैन
आफ्नो प्रतिक्रिया दिनुहोस् तपाईंको विचार महत्वपूर्ण छ।

🔒 तपाईंको इमेल प्रकाशित गरिने छैन।