२०८३ भाद्र ३०, मंगलवार
22:24
काठमाडौं, नेपाल

देउवा पक्षले छुट्टै महाधिवेशन गर्ने निष्कर्ष, थापा पक्षसँग वार्ताको ढोका खुला

नेपालबिहानी २३ घण्टा अगाडि

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले छुट्टै महाधिवेशन आयोजना गर्ने निष्कर्ष निकालेको छ। सोमबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको देउवा पक्षको बैठकले यस्तो निर्णय गरेको हो।

१५औँ महाधिवेशन आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा बसेको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा कोइरालाले पार्टीभित्र सबै पक्षलाई समेटेर अघि बढ्न महाधिवेशन आयोजना गर्न लागिएको बताए।

उनले नेपाली कांग्रेसको शक्ति पार्टीको इतिहास, विचार, लोकतान्त्रिक चरित्र र कार्यकर्ताको निष्ठामा रहेको उल्लेख गर्दै विधि, विधान, वैधानिकता र एकताको बाटोबाट पार्टीलाई पुनः सशक्त र विश्वसनीय बनाउनुपर्नेमा जोड दिए।

कोइरालाले सभापति गगन थापा पक्षसँग वार्ता गरेर एउटै महाधिवेशन गर्ने प्रयास जारी राख्ने बताए। समूह विभाजन हुन नदिन वार्ताको विकल्प नरहेको उल्लेख गर्दै उनले थापा पक्षलाई मूलधारमा ल्याउन आफूहरू तयार रहेको धारणा राखे।

यसअघि सभापति गगन थापा पक्षले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई आफ्नो नेतृत्वको केन्द्रीय कार्यसमितिमा समेत समेट्ने निर्णय गरेको थियो। सो निर्णयपछि देउवा पक्षको बैठक बसेको हो।

थापा पक्षको उक्त प्रस्ताव भने स्वीकार नगर्ने निर्णय भएको नेता डा. प्रकाशशरण महतले जानकारी दिए। उनका अनुसार असोज ४ गतेका लागि वडा अधिवेशन तोकिएको अवस्थामा त्यसमा सहभागी भएपछि मात्रै केन्द्रीय सदस्य बनाउने प्रस्ताव आफूहरूका लागि स्वीकार्य छैन।

‘हामीले केन्द्रीय सदस्य खोजेका होइनौँ, एकताको महाधिवेशन खोजेका हौँ,’ महतले भने।

देउवा पक्षले आगामी असोज १५ गतेदेखि वडा अधिवेशन गर्ने तयारी गरेको छ। उक्त अधिवेशनमा सहभागी हुन देशभरका नेता तथा कार्यकर्तालाई आह्वानसमेत गरिएको छ।

यससँगै नेपाली कांग्रेसभित्र १५औँ महाधिवेशनलाई लिएर दुई पक्षबीच देखिएको विवाद थप जटिल बनेको छ। यद्यपि, देउवा पक्षले वार्तामार्फत एउटै महाधिवेशन गर्ने सम्भावना कायम रहेको जनाएको छ।

💬

प्रतिक्रिया

आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया छैन
आफ्नो प्रतिक्रिया दिनुहोस् तपाईंको विचार महत्वपूर्ण छ।

🔒 तपाईंको इमेल प्रकाशित गरिने छैन।