त्रिशूली–३ ‘ए’को सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनालाई करिब १० दिनपछि जीवितै उद्धार गरिएको छ ।
शुक्रबार बिहान उद्धार गरिएका दुई जनामा सञ्जय साह र कविर महर्जन रहेका छन्। उद्धार टोलीले सुरुङभित्र मानिस जीवित रहेको संकेत पाएपछि नेपाली सेना, सशस्त्र प्रहरी तथा प्राविधिक टोलीले उद्धार अभियान तीव्र बनाएको थियो ।
उद्धार गरिएका साह नेपाल विद्युत् प्राधिकरणका चौथो तहका कर्मचारी तथा आयोजनामा मेकानिकल फोरम्यानका रूपमा कार्यरत रहेको बताइएको छ। त्यस्तै महर्जन मेकानिकल सुपरभाइजर हुन् ।
उद्धारका क्रममा सुरुङभित्र रहेका व्यक्तिहरूसँग उद्धार टोलीको दोहोरो संवादसमेत भएको थियो। जीवित रहेको पुष्टि भएपछि उद्धार टोलीले जोखिमपूर्ण अवस्थामा सुरुङभित्र प्रवेश गरी दुवै जनालाई बाहिर निकालेको हो ।
उद्धारपछि उनीहरूलाई घटनास्थलमै प्राथमिक उपचार प्रदान गरिएको छ। थप उपचारका लागि काठमाडौं ल्याइएको अन्तर्राष्ट्रिय समाचार रिपोर्टहरूले जनाएका छन् ।
सुरुङभित्र अन्य व्यक्तिको खोजी जारी
बाढीपछि त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा अझै अन्य व्यक्तिहरू फसेको आशंका गरिएको छ। दुई जनाको जीवितै उद्धार भएपछि सुरुङभित्र रहेका अन्य व्यक्तिको पनि सकुशल उद्धार हुने आशा थप बलियो भएको छ ।
उद्धार टोलीले सुरुङभित्रको लेदो, ढुंगा तथा भग्नावशेष हटाउँदै खोजी अभियान जारी राखेको छ। यसअघि सुरुङ प्रवेश क्षेत्रमा ठूलो परिमाणमा लेदो तथा भग्नावशेष जम्मा भएकाले उद्धारमा कठिनाइ भएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा इन्जिनियर श्रीराम न्यौपानेसहित प्राविधिक टोली उद्धार तथा खोजी अभियानमा संलग्न छन्। नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले सुरुङभित्र रहेका सम्भावित जीवित व्यक्तिको खोजीलाई निरन्तरता दिएको छ ।
दुई जनाको जीवित उद्धारले लामो समयदेखि सुरुङभित्र फसेका अन्य व्यक्तिलाई पनि सकुशल बाहिर निकाल्न सकिने आशा जगाएको छ। उद्धार अभियान भने अझै जोखिमपूर्ण अवस्थामा निरन्तर जारी छ ।









प्रतिक्रिया
आफ्नो प्रतिक्रिया दिनुहोस्