२०८३ भाद्र २८, आइतवार
14:28
काठमाडौं, नेपाल

एमालेको आकस्मिक सचिवालय बैठक:

नेपालबिहानी ५ महिना अगाडि

१४ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेपछि सिर्जित राजनीतिक परिस्थितिबारे ठोस निर्णय लिन एमाले सचिवालयको आकस्मिक बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी छ। शनिबार बिहानै प्रहरीले ओलीलाई उनको भक्तपुरस्थित निवासबाट नियन्त्रणमा लिएपछि एमालेले यसलाई सरकारको अलोकतान्त्रिक र प्रतिशोधपूर्ण कदम भनेको छ।

बैठकमा सहभागी एक नेताका अनुसार, अध्यक्ष ओलीको गिरफ्तारी केवल कानूनी प्रक्रिया नभई राजनीतिक प्रतिशोध साध्ने उद्देश्यले प्रेरित रहेको निष्कर्ष एमालेले निकालेको छ। नवनियुक्त गृहमन्त्री सुधन गुरूङको प्रत्यक्ष निर्देशनमा भएको यस कार्यले मुलुकको शान्ति सुरक्षा र लोकतान्त्रिक वातावरणमा गम्भीर खलल पुर्‍याउने भन्दै एमालेले कडा आपत्ति जनाएको छ। सचिवालय बैठकले यसबारे औपचारिक विरोधको खाका र देशव्यापी आन्दोलनको कार्यतालिका तय गर्ने बुझिएको छ।

Nepal Bihani Khabar Advertisement

एमाले सचिव महेश बस्नेतले सञ्चारकर्मीसँग कुरा गर्दै यो गिरफ्तारीलाई ‘सुनियोजित षड्यन्त्र’ को संज्ञा दिनुभएको छ। उहाँले सचिवालय बैठक लगत्तै पार्टीका केन्द्रीय सदस्यहरू र जिल्ला अध्यक्षहरूसँग पनि भर्चुअल माध्यमबाट छलफल गरिने र त्यसपछि विरोधका कार्यक्रमहरू घोषणा गरिने जानकारी दिनुभयो। “सरकारले कानूनी राज्यको उपहास गरेको छ, यसको मूल्य उसले चुकाउनुपर्नेछ,” बस्नेतले चेतावनी दिनुभयो।

अध्यक्ष ओली पक्राउको विरोधमा काठमाडौंका विभिन्न चोक र भक्तपुरमा एमाले निकट भ्रातृ संगठन र कार्यकर्ताहरूले सडकमा उत्रिएर नाराबाजी सुरु गरिसकेका छन्। राजधानीको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ भने प्रमुख सरकारी कार्यालय र निवासहरूमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। एमालेका कार्यकर्ताहरूले “राजनीतिक प्रतिशोध बन्द गर” र “अध्यक्ष ओलीलाई ससम्मान रिहा गर” जस्ता नारा लगाइरहेका छन्।

पक्राउ परेका ओलीलाई हाल स्वास्थ्य परीक्षणका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ। आज शनिबार सार्वजनिक बिदा भएकाले उनलाई भोलि मात्रै अदालतमा उपस्थित गराइने सम्भावना छ। एमालेले भने आजैदेखि देशका ७७ वटै जिल्लामा मसाल जुलुस र प्रदर्शन गर्ने आन्तरिक तयारी गरिरहेको स्रोतले जनाएको छ।

💬

प्रतिक्रिया

आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया छैन
आफ्नो प्रतिक्रिया दिनुहोस् तपाईंको विचार महत्वपूर्ण छ।

🔒 तपाईंको इमेल प्रकाशित गरिने छैन।