२०८३ भाद्र २८, आइतवार
17:48
काठमाडौं, नेपाल

राजनीतिमार्फत देश विकासमा जुट्दै समाजसेवी सुदामा कार्की क्षेत्री

नेपालबिहानी २ महिना अगाडि

काठमाडौँ । पर्यटन व्यवसायी तथा समाजसेवी सुदामा कार्की क्षेत्रीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । लामो समयदेखि पर्यटन र सामाजिक सेवामा क्रियाशील कार्कीले आफ्नो व्यावसायिक अनुभव, ज्ञान र नेतृत्व क्षमतालाई राजनीतिको माध्यमबाट राष्ट्र निर्माणमा उपयोग गर्ने उद्देश्यका साथ यो निर्णय लिनुभएको हो।


पर्यटन क्षेत्रमार्फत रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तारमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आउनुभएका कार्कीले आत्मनिर्भर अर्थतन्त्र निर्माण, सुशासनको प्रत्याभूति र राज्य सञ्चालनमा मितव्ययिता कायम गर्नुपर्ने विषयलाई आफ्नो प्राथमिकतामा राख्नुभएको छ। विश्वका ७० भन्दा बढी मुलुकको भ्रमण गरिसक्नुभएका कार्कीले अन्तर्राष्ट्रिय अभ्यास र नेपालको धरातलीय यथार्थलाई जोडेर आर्थिक समृद्धिको मोडेल तयार पार्न सकिने विश्वास व्यक्त गर्नुभयो। उहाँले पर्यटन, कृषि र उद्यमशीलतालाई देशको आर्थिक विकासको मुख्य आधार मान्नुपर्ने धारणा राख्नुभएको छ।


व्यावसायसँगै शिक्षा र सामाजिक सेवामा कार्कीको योगदान अतुलनीय छ। विगत २५ वर्षदेखि गरिब, अनाथ तथा असहाय बालबालिकाको शिक्षा र संरक्षणमा समर्पित कार्कीले गोकर्णेश्वरमा विद्यालय सञ्चालन गरी दुई सयभन्दा बढी विद्यार्थीलाई कक्षा १० सम्म निःशुल्क शिक्षा प्रदान गर्दै आउनुभएको छ। साथै, कक्षा १२ सम्म निःशुल्क अध्ययन र आवासको व्यवस्था गरी विभिन्न ग्रामीण जिल्लाका विद्यार्थीहरूको भविष्य निर्माणमा उहाँले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ।
शिक्षाको पहुँच विस्तार गर्ने क्रममा उहाँले गोरखाको साविक आर्खेत–थुमी (स्वारागाउँ) मा ३० जना क्षमताको छात्रावास निर्माण गरी स्थानीय विद्यालयलाई हस्तान्तरण गर्नुभएको थियो, जसले दुर्गमका विद्यार्थीहरूका लागि शिक्षा आर्जनमा सहजता प्रदान गरेको छ।


राजनीतिलाई सेवाको माध्यम मान्नुहुने कार्कीले भन्नुभयो, “व्यवसाय र समाजसेवाबाट प्राप्त अनुभवलाई अब नीति निर्माण र राजनीतिक नेतृत्वमार्फत देशको विकासमा प्रयोग गर्न चाहन्छु।” उहाँले युवामुखी, पारदर्शी र उत्तरदायी राजनीतिक संस्कृतिको विकास गर्दै पार्टी सङ्गठनलाई थप मजबुत बनाउन आफू सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
कार्कीको उम्मेदवारीलाई पर्यटन, सामाजिक सेवा र उद्यमशीलता क्षेत्रका प्रतिनिधिहरूले सकारात्मक रूपमा लिएका छन्। उहाँको प्रवेशले रास्वपाको केन्द्रीय तहमा यी क्षेत्रको प्रतिनिधित्व थप बलियो हुने अपेक्षा गरिएको छ। 

💬

प्रतिक्रिया

आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया छैन
आफ्नो प्रतिक्रिया दिनुहोस् तपाईंको विचार महत्वपूर्ण छ।

🔒 तपाईंको इमेल प्रकाशित गरिने छैन।