रास्वपामा नयाँ नेतृत्व चयनको तयारी तीव्र, पदाधिकारीको मतदान राति सवा ९ बजेदेखि
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ। निर्वाचन समितिले जारी गरेको तालिकाअनुसार केन्द्रीय सदस्यहरूको निर्वाचन प्रक्रिया सम्पन्न भएपछि पदाधिकारी पदका लागि मतदान राति सवा ९ बजेदेखि सुरु गरिनेछ।
महाधिवेशनमा सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्ष, सहकोषाध्यक्ष, प्रवक्तालगायत विभिन्न पदका लागि निर्वाचन हुँदैछ। केन्द्रीय सदस्यहरूको मतगणना सम्पन्न भएपछि पदाधिकारी पदका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरी मतदान प्रक्रिया अगाडि बढाइने जनाइएको छ।
यसअघि सम्पन्न पहिलो चरणको मतदानमा कुल ४ हजार ३११ प्रतिनिधिमध्ये २ हजार ९५९ जनाले मताधिकार प्रयोग गरेका थिए भने १ हजार ३५२ प्रतिनिधि अनुपस्थित रहेका थिए। महाधिवेशन व्यवस्थापन र निर्वाचन प्रक्रियामा ढिलाइ भएका कारण केही प्रतिनिधि घर फर्किएको बताइएको छ।
रास्वपाको नयाँ नेतृत्व चयनलाई लिएर कार्यकर्ता तथा प्रतिनिधिहरूको चासो उच्च रहेको छ। पदाधिकारी निर्वाचनको नतिजासँगै पार्टीको आगामी नेतृत्व संरचना टुंगो लाग्नेछ।









प्रतिक्रिया
आफ्नो प्रतिक्रिया दिनुहोस्