देउवालाई अभिभावकीय भूमिकामा कांग्रेसको भरोसा
नेपाल बिहानी खबर | साउन २८ गते, बिहीबार
काठमाडौं । नेपाली कांग्रेसले निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लामो समयको स्वास्थ्य उपचारपछि स्वदेश फर्किएकोमा स्वागत गर्दै पार्टीको आगामी यात्रामा उनको अनुभव र मार्गदर्शन महत्वपूर्ण हुने जनाएको छ।
कांग्रेस केन्द्रीय समितिको बैठकपछि प्रवक्ता देवराज चालिसेले जारी गरेको विज्ञप्तिमा देउवाको पूर्ण स्वास्थ्यलाभको कामना गर्दै लोकतान्त्रिक आन्दोलन तथा पार्टी निर्माणमा उनले पुर्याएको योगदानको प्रशंसा गरिएको छ।
कांग्रेसले विशेष महाधिवेशनमार्फत पार्टीमा भएको वैधानिक परिवर्तनलाई संस्थागत गर्दै संगठनलाई थप गतिशील र समयसापेक्ष बनाउनुपर्ने आवश्यकता औँल्याएको छ। यस प्रक्रियामा देउवाले निवर्तमान सभापतिका रूपमा अभिभावकीय तथा मार्गदर्शक भूमिका निर्वाह गर्ने विश्वास पार्टीले व्यक्त गरेको हो।
विज्ञप्तिमा पार्टीभित्र विधि, पद्धति र लोकतान्त्रिक संस्कार स्थापित गर्न देउवाले लामो समयदेखि निर्वाह गरेको भूमिकाको समेत सम्मान गरिएको छ। बदलिँदो राजनीतिक परिस्थितिमा कांग्रेसलाई थप व्यवस्थित र प्रभावकारी बनाउन अनुभवी नेतृत्वको मार्गदर्शन आवश्यक रहेको पार्टीको भनाइ छ।
कांग्रेसले विशेष महाधिवेशनबाट आएको वैधानिक परिवर्तनलाई संस्थागत गर्ने विषयलाई प्राथमिकतामा राखेको जनाएको छ। संगठनलाई समयअनुकूल बनाउँदै आगामी राजनीतिक चुनौतीको सामना गर्न पार्टीभित्र एकता, विधि र संस्थागत अभ्यासलाई बलियो बनाउनुपर्नेमा समेत जोड दिइएको छ।
देउवा स्वास्थ्य उपचारका लागि लामो समयदेखि विदेशमा रहेका थिए। उपचारपछि उनी बिहीबार स्वदेश फर्किएका हुन्। उनको स्वदेश फिर्तीपछि कांग्रेसभित्र उनको आगामी राजनीतिक भूमिकालाई लिएर चर्चा समेत बढेको छ।
यसैबीच, चुनदेवीस्थित कांग्रेस इतर समूहले देउवालाई सभापतिकै रूपमा मान्यता दिँदै बोर्ड तथा नेमप्लेट राखेपछि पार्टीभित्रको आन्तरिक राजनीतिक समीकरणबारे चासो थप बढेको छ।
देउवाको स्वास्थ्य अवस्था, पार्टीभित्रको पछिल्लो वैधानिक परिवर्तन तथा आगामी संगठनात्मक दिशाबीच कांग्रेसले उनको अनुभवलाई कसरी उपयोग गर्छ भन्ने विषय अब राजनीतिक रूपमा महत्वपूर्ण बन्ने देखिएको छ।











प्रतिक्रिया
आफ्नो प्रतिक्रिया दिनुहोस्