राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई; विभुषण र लुनिरा सर्वोत्कृष्ट खेलाडी
कोहलपुर (बाँके) । बाँकेको कोहलपुरस्थित शिखा एकेडेमीले दोस्रो शिखा स्कुल स्तरीय राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि चुमेको छ। शिखा एकेडेमी र नेपालगन्ज स्वीमिङ क्लबको संयुक्त आयोजनामा शनिबार कोहलपुरमा सम्पन्न प्रतियोगितामा १३४ अंकसहित आयोजक शिखा एकेडेमी प्रथम भएको हो।
प्रतियोगिताको नतिजा र सहभागी पौडी प्राविधिक चन्द्रराम चौधरीका अनुसार प्रतियोगितामा ललितपुरको लिटिल एञ्जल्स स्कुल १०१ अंकका साथ दोस्रो भयो। त्यसैगरी:
तेस्रो: बागेश्वरी एकेडेमी, कोहलपुर (१९ अंक)
चौथो: सोफिया रेसिडेन्सियल स्कुल, नेपालगन्ज (८ अंक)
पाँचौँ: लुम्बिनी वर्ल्ड स्कुल, रुपन्देही (५ अंक)
देशभरका २४ वटा विद्यालयका १०२ जना विद्यार्थीहरूले यस प्रतिस्पर्धामा आफ्नो कौशल प्रदर्शन गरेका थिए।

विभुषण र लुनिराको सानदार प्रदर्शन प्रतियोगितामा लिटिल एञ्जल्स स्कुलका खेलाडीहरूले व्यक्तिगत विधामा दबदबा कायम गरे। छात्रतर्फ विभुषण शाक्य र छात्रातर्फ लुनिरा शाक्यले समान ६–६ वटा स्वर्ण पदक जित्दै ‘सर्वोत्कृष्ट खेलाडी’ घोषित भए।
अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी कार्यक्रममा आयोजक शिखा एकेडेमीका संयोजक सूर्यमणि अधिकारीले अघिल्लो वर्ष जिल्ला स्तरबाट सुरु गरिएको प्रतियोगितालाई यस वर्ष राष्ट्रिय स्तरमा सफलतापूर्वक सम्पन्न गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो। यस्तै, नेपालगन्ज स्वीमिङ क्लबका अध्यक्ष केशवराज न्यौपानेले आगामी कार्तिक महिनामा कोहलपुरमै अन्तर्राष्ट्रिय स्तरको पौडी प्रतियोगिता आयोजना गर्ने घोषणा गर्नुभयो।
नगरलाई चिनाउने प्रयास यसअघि प्रतियोगिताको उद्घाटन गर्दै कोहलपुर नगरपालिकाका उपप्रमुख संगीता सुवेदीले स्थानीय विद्यालयहरूले गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापका माध्यमबाट नगरलाई देशभर चिनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो। खेलकुदले विद्यार्थीको शारीरिक र मानसिक विकासमा टेवा पुर्याउने उहाँको विश्वास थियो। तस्बिर: नेपालगन्ज स्वीमिङ क्लब
