स्वास्थ्यकर्मीमाथि हुने दुर्व्यवहारको यथार्थ चित्रण: नेपाल मेडिकल कलेजमा मञ्चन भयो ‘सेतो कोटको पछाडिको पीडा’
अन्तर्राष्ट्रिय नर्सिङ दिवसका अवसरमा नेपाल मेडिकल कलेज (एनएमसी) को नर्सिङ विभागद्वारा आयोजित कार्यक्रममा मञ्चन गरिएको एक चेतनामूलक नाटकले स्वास्थ्यकर्मीहरूको अदृश्य पीडा र भोगाइलाई सजीव रूपमा प्रस्तुत गरेको छ । मंगलबार कलेजको सभाहलमा मञ्चन गरिएको ‘सेतो कोटको पछाडिको पीडा’ नामक नाटकले पछिल्लो समय स्वास्थ्य संस्थाहरूमा स्वास्थ्यकर्मीले भोग्नुपरिरहेका चुनौती र सुरक्षाको सवाललाई उजागर गरेको हो ।
स्वास्थ्यकर्मीको वास्तविक जीवन र चुनौतीको चित्रण
नाटकमा एउटी आमाले आफ्नो सम्पूर्ण जीवनको संघर्ष सन्तानलाई चिकित्सक (डाक्टर) बनाउन समर्पित गरेको कथा र अर्कोतर्फ आफ्नै काखे शिशुलाई घरमा छाडेर अस्पतालमा बिरामीको सेवामा अहोरात्र खटिने नर्सको यथार्थलाई उतारिएको थियो । लगातार ‘डबल ड्युटी’ गर्दा परिवारलाई समय दिन नसक्नु, चाडपर्व र संस्कारहरूबाट टाढिनु पर्ने बाध्यता जस्ता मर्मस्पर्शी दृश्यहरू नाटकमा समेटिएका थिए ।
विशेष गरी, अहोरात्र बिरामीको जीवन बचाउन संघर्ष गर्दागर्दै पनि कतिपय अवस्थामा बिरामीलाई बचाउन नसकिएको क्षणमा स्वास्थ्यकर्मीहरूमाथि नै जाइलाग्ने, दोषी ठहर गर्ने, आक्रमण, दुर्व्यवहार र मानसिक यातना दिने प्रवृत्तिको चित्रणले हलमा उपस्थित चिकित्सक, नर्स तथा विद्यार्थीहरूलाई भावुक बनाएको थियो ।

“कुनै पनि स्वास्थ्यकर्मीले बिरामीको अहित चाहँदैन”– डा. सबिहा यासमिन
कार्यक्रमकी प्रमुख अतिथि तथा नेपाल मेडिकल कलेजकी प्रबन्ध निर्देशक डा. सबिहा यासमिनले नाटकले स्वास्थ्यकर्मीहरूको वास्तविक र गम्भीर पीडालाई अत्यन्त यथार्थ ढंगले प्रस्तुत गरेको बताउनुभयो ।
“कुनै पनि स्वास्थ्यकर्मी बिरामीलाई हानि पुर्याउने उद्देश्यले उपचारमा संलग्न हुँदैन । उसले आफ्नो अन्तिम क्षण र सामर्थ्यसम्म इमानदारितापूर्वक जीवन बचाउने प्रयास गरिरहेको हुन्छ,” डा. यासमिनले भन्नुभयो, “स्वास्थ्यकर्मीलाई भगवानको रूपमा हेरेर असम्भव अपेक्षा गर्नुको सट्टा उनीहरूलाई मानवीय सम्मान र सुरक्षित काम गर्ने वातावरण दिनु आवश्यक छ ।”
उहाँले नेपाल मेडिकल कलेज आफ्ना स्वास्थ्यकर्मीहरूको पेशागत सुरक्षा र व्यावसायिकताका लागि सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै सम्पूर्ण कर्मचारीहरूलाई उच्च मनोबलका साथ इमानदार भई आफ्नो कर्ममा लाग्न आग्रह गर्नुभयो ।


नर्सिङ सेवाको क्षमता विकास र सुरक्षामा जोड
कलेजकी निर्देशक डा. नुसरत जहाँ अन्सारीले स्वास्थ्य सेवा प्रवाहमा नर्सहरूको योगदान अतुलनीय रहेको उल्लेख गर्दै उनीहरूको क्षमता विकास र पेशागत सुरक्षाका लागि कलेज प्रशासन सदैव सकारात्मक रहने प्रतिबद्धता जनाउनुभयो । उहाँले नर्सिङ सेवालाई अझ प्रभावकारी र गुणस्तरीय बनाउँदै लैजाने स्पष्ट पार्नुभयो ।
यस्तै, कलेजका प्रिन्सिपल प्रा.डा. मोदनाथ मरहठ्ठा, अस्पताल निर्देशक प्रा.डा. निलमणी उपाध्याय तथा मेट्रोन नविना सिंहले स्वास्थ्य सेवा विस्तारमा नर्सहरूको योगदानको उच्च प्रशंसा गर्दै उनीहरूलाई उचित सम्मान र निरन्तर प्रेरणाको आवश्यकता औँल्याउनुभयो ।
सप्ताहव्यापी कार्यक्रम र विविध गतिविधि
अन्तर्राष्ट्रिय नर्सिङ दिवसकै अवसर पारेर कलेजमा सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रमहरू आयोजना गरिएका थिए । जसअन्तर्गत चित्रकला, हाजिरीजवाफ, सरसफाइ तथा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएका थिए ।

विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने सहभागीहरूलाई कार्यक्रममा पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो । सो अवसरमा नर्सिङ विद्यार्थीहरूले आधुनिक नर्सिङ सेवाकी प्रणेता फ्लोरेन्स नाइटिङ्गेलको योगदानको स्मरण गर्दै सेवा, त्याग र समर्पणको भावका साथ अगाडि बढ्ने प्रण गरेका थिए । कार्यक्रमको समापनमा कलेजका नर्सिङ विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुतिहरू समेत प्रदर्शन गरेका थिए ।









प्रतिक्रिया
आफ्नो प्रतिक्रिया दिनुहोस्