कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक, महाधिवेशन कार्यतालिका हेरफेर हुने
कार्यसम्पादन समितिको निर्णयपछि निर्वाचन समितिले महाधिवेशनको नयाँ कार्यतालिकाबारे छलफल गर्ने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिको बैठक बोलाएको छ। समितिको बैठक भोलि दिउँसो १ बजे सानेपामा बस्ने गरी बोलाइएको समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिएका छन्।
कटुवालका अनुसार बैठकमा पार्टीको १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका हेरफेर गर्ने विषयमा छलफल हुने तयारी छ।
कांग्रेसको जारी कार्यसम्पादन समितिको बैठकले १५औँ महाधिवेशनको पूर्वनिर्धारित कार्यतालिका केही समय पछि धकेल्ने निर्णय गर्ने तयारी गरिरहेको छ। कार्यसम्पादन समितिबाट कार्यतालिका हेरफेरसम्बन्धी निर्णय भएपछि त्यसअनुसार निर्वाचन समितिले नयाँ कार्यतालिका तय गर्नेछ।
निर्वाचन समितिको बैठकले महाधिवेशनसँग सम्बन्धित निर्वाचन प्रक्रिया, समयसीमा तथा आवश्यक तयारीबारे समेत छलफल गर्ने अपेक्षा गरिएको छ।
कांग्रेसमा महाधिवेशनको मिति तथा निर्वाचन कार्यतालिकालाई लिएर छलफल भइरहेका बेला निर्वाचन समितिको बैठक बोलाइएको हो। कार्यसम्पादन समितिको निर्णयपछि महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक हुने कांग्रेसको तयारी छ।








प्रतिक्रिया
आफ्नो प्रतिक्रिया दिनुहोस्