२०८३ भाद्र २९, सोमवार
17:32
काठमाडौं, नेपाल

सरकारी र राजसी ठाँटमा लाग्दा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली

नेपालबिहानी ५ दिन अगाडि

जनताका मुद्दाबाट पार्टी टाढिँदा संगठन कमजोर भएको ज्ञवालीको निष्कर्ष

काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पार्टीको कार्यशैली जनताबाट टाढिँदै गएका कारण एमाले कमजोर बनेको बताएका छन्। पार्टी नेता तथा कार्यकर्ता जनपरिचालनमा केन्द्रित हुनुपर्नेमा सरकारी शैली र सत्ता व्यवस्थापनमा अल्झिँदा जनतासँगको सम्बन्ध कमजोर भएको उनको भनाइ छ।

मधेस प्रदेश कमिटीले आयोजना गरेको **‘मिसन जागरण अभियान’**को अभिमुखीकरण कार्यक्रममा बोल्दै पूर्वउपमहासचिव ज्ञवालीले एमालेको कार्यशैलीमा आएको परिवर्तनप्रति आत्मसमीक्षा गर्नुपर्ने बताए।

‘एमाले जनपरिचालन गर्ने पार्टी हो, तर हाम्रो कार्यशैली सरकारी भयो, राजसी भयो,’ ज्ञवालीले भने, ‘हाम्रो ध्यान सिडिओ सरुवा, प्रहरी र प्रशासकीय अधिकृतको सरुवातिर केन्द्रित भयो। यसले पार्टीका नेतालाई जनतासँग टाढा पुर्‍यायो। यो कुरा आजैका मितिबाट सुधार हुन जरुरी छ।’

आन्तरिक एकता कमजोर हुँदा निर्वाचनमा असर

ज्ञवालीले फागुनमा भएको निर्वाचनमा एमालेले कमजोर नतिजा व्यहोर्नुको एउटा प्रमुख कारण पार्टीभित्रको आन्तरिक एकतामा देखिएको समस्या भएको बताए।

पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता विवाद, पार्टीभित्र समूह तथा उपसमूह निर्माण र निर्वाचनमा एकताबद्ध भएर अघि बढ्न नसक्दा पार्टीले क्षति व्यहोर्नुपरेको उनको विश्लेषण छ।

‘गतवर्षको भदौ २३ गतेसम्म एमाले ठूलो र बलियो पार्टी थियो, तर यसवर्षको भदौ २३ मा एमाले कमजोर पार्टी भएको छ,’ ज्ञवालीले भने, ‘यो अवस्था आउनुमा पार्टी जनताका मुद्दाबाट टाढिएको परिणाम हो।’

उनले संविधानमाथि प्रश्न उठ्दा वा पार्टीका नेतामाथि सरकारले ज्यादती गर्दा समेत जनता सडकमा नआउनुको कारण पार्टी र जनताबीचको सम्बन्ध कमजोर हुनु रहेको बताए।

सत्ता समीकरण फेरबदलले नकारात्मक सन्देश गयो

ज्ञवालीले २०७९ सालको निर्वाचनपछि एमालेप्रति जनतामा ‘सत्ताभोगी पार्टी’को धारणा बनेको समेत बताए। उनका अनुसार २०७९ देखि २०८२ सम्म एमालेले चार पटक सत्ता समीकरण परिवर्तन गरेको थियो।

‘२०७९ देखि ०८२ सम्म एमालेले चार पटक सत्ता समीकरण बदल्यो। पहिला प्रचण्डलाई प्रधानमन्त्री बनायो। केही महिनामै त्यो सरकार छाड्यो। फेरि प्रचण्डलाई नै प्रधानमन्त्री मानेर सरकारमा सहभागी भयो,’ उनले भने।

सरकारमा सहभागी हुने वा बाहिरिने निर्णयको स्पष्ट कारण जनतालाई बुझाउन नसकिएको भन्दै ज्ञवालीले त्यसले पार्टीप्रति थप प्रश्न उठाएको बताए।

‘सरकारमा भित्रिने वा बाहिरिने कारण हामीले जनतालाई भनेनौँ। आखिर प्रचण्ड सुध्रिएर हामी सत्तामा गएका थियौँ कि हामी सुध्रिएर ? यसको जवाफ अझै पनि जनताले खोजेका छन्,’ उनले भने।

प्रचण्ड नेतृत्वको सरकारबाट हठात् बाहिरिएर नेपाली कांग्रेससँग सहकार्य गर्ने निर्णयले पनि जनतामा नकारात्मक सन्देश गएको उनको भनाइ छ।

जनताका समस्या पहिचानदेखि समाधानसम्म पुग्नुपर्ने

ज्ञवालीले अब एमालेले जनताका वास्तविक समस्या पहिचान गरी तिनको उठान र समाधानका लागि प्रभावकारी भूमिका खेल्नुपर्ने बताए।

पार्टीको संगठनलाई जनतासँग पुनः जोड्न कार्यशैलीमा सुधार आवश्यक रहेको उनको भनाइ छ। सत्ता र प्रशासनिक गतिविधिभन्दा जनताका समस्या तथा सरोकारलाई प्राथमिकतामा राखेर पार्टी अघि बढ्नुपर्ने उनले बताए।

एमाले मधेस प्रदेश कमिटीको भेला महोत्तरीको लालगढमा जारी छ।

💬

प्रतिक्रिया

आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया छैन
आफ्नो प्रतिक्रिया दिनुहोस् तपाईंको विचार महत्वपूर्ण छ।

🔒 तपाईंको इमेल प्रकाशित गरिने छैन।