नयाँ रोज्ने नाममा जनताले भ्रमको परिणाम भोगिरहेका छन्: महासचिव शङ्कर पोखरेल
तुलसीपुर (दाङ) । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राजनीतिक परिवर्तनका पक्षमा उभिने विपन्न र श्रमजीवी वर्ग नै अहिले मुलुकमा सबैभन्दा बढी असुरक्षित बन्दै गएको दाबी गर्नुभएको छ।
नेकपा एमाले दाङ जिल्ला कमिटीले घोराहीमा आयोजना गरेको जननेता नेत्रलाल पौडेल ‘अभागी’को 42 औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताउनुभएको हो।
सम्बोधनका क्रममा महासचिव पोखरेलले निर्वाचनका बेला राजनीतिक दलहरूसँग सम्बन्ध पनि नबिगार्ने र मत पनि नदिने रणनीतिक नाराहरू तय गरिएका कारण अहिले मुलुकले दुःख पाइरहेको टिप्पणी गर्नुभयो।
चुनावका बेला ‘चुपचाप घण्टीमा छाप’ भन्दै दल नबदल्ने तर मत बदल्ने मान्यता अघि सारिएको र नयाँ आएपछि चमत्कारै हुन्छ भन्ने भ्रम फैलाइएको उहाँले बताउनुभयो। यस प्रकारको नारा र भ्रमको पछि सबैभन्दा धेरै गरिबी र अभावमा बाँचेका नागरिकहरू लागेको उल्लेख गर्दै उहाँले आज त्यही लहड र नीतिको परिणाम सोझा जनताले भोगिरहेको धारणा राख्नुभयो।
उहाँले भदौ २३ र २४ गते भएका राजनीतिक घटनाक्रम र परिवर्तनहरू मुलुकलाई अगाडि बढाउन नभई देशलाई पछाडि धकेल्न र भूराजनीतिक द्वन्द्वलाई बढावा दिन रचिएको षड्यन्त्र भएको आरोप समेत लगाउनुभयो।
मुलुकमा नेकपा एमाले कमजोर हुँदा गरिब, विपन्न तथा श्रमजीवी वर्गले दुःख पाएको उल्लेख गर्दै उहाँले एमाले अब त्यसका विरुद्ध दह्रो प्रतिवाद उत्रने चेतावनी दिनुभयो। राष्ट्र, राष्ट्रियता र देशको स्वाधीनता रक्षाका लागि आगामी ५ वर्षसम्म सडकबाटै निरन्तर खबरदारी गरिरहनुपर्नेमा उहाँको जोड थियो।
अबको राजनीति नेतामुखी नभएर जनतामुखी हुनुपर्ने भन्दै महासचिव पोखरेलले पार्टीका हरेक नेता तथा कार्यकर्तालाई जनताको घरदैलोमा पुगेर उनीहरूका सुख-दुःख र मुद्दाहरूलाई सँगै उठान गर्न निर्देशन दिनुभयो।
एमाले दाङका अध्यक्ष शिवकुमार आचार्यको अध्यक्षतामा सम्पन्न उक्त स्मृति कार्यक्रममा एमाले केन्द्रीय सदस्य नरुलाल चौधरी, अनुशासन आयोगका केन्द्रीय सदस्य छविलाल वली, जिल्ला उपाध्यक्ष मनोहर बुढाथोकी र सचिव श्याम डाँगी लगायतका नेताहरूले जननेता नेत्रलाल पौडेल ‘अभागी’को राजनीतिक तथा सामाजिक योगदानको चर्चा गर्दै आ-आफ्नो धारणा राख्नुभएको थियो।









प्रतिक्रिया
आफ्नो प्रतिक्रिया दिनुहोस्