शिक्षकको विरोधपछि ‘मास्टर्नी’को विवादित गीत हटाइयो, प्रियङ्का कार्की र दुर्गेश थापाले मागे सार्वजनिक माफी
काठमाडौं । निर्माणाधीन नेपाली चलचित्र ‘मास्टर्नी’ को प्रचारात्मक गीतलाई लिएर विवाद उत्पन्न भएपछि उक्त गीत युट्युबसहित सबै डिजिटल प्लेटफर्मबाट हटाइएको छ। गीतमा शिक्षक पेसाको मानमर्दन हुने खालका शब्द र दृश्य समावेश भएको भन्दै चौतर्फी आलोचना र नेपाल शिक्षक महासंघको विरोधपछि चलचित्रकी निर्मात्री तथा अभिनेत्री प्रियङ्का कार्की र गायक दुर्गेश थापा ले सार्वजनिक रूपमा माफी मागेका छन्।
अभिनेत्री तथा निर्मात्री प्रियङ्का कार्कीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै विवादित गीत चलचित्रको कथावस्तुको हिस्सा नभई प्रचारप्रसारका लागि मात्र तयार गरिएको स्पष्ट पारेकी छन्। गीतमा प्रयोग भएका केही शब्द र दृश्यका कारण सम्मानित शिक्षक–शिक्षिकाहरू तथा शिक्षण पेसासँग जोडिएका व्यक्तिहरूको गरिमामा आँच पुगेको भन्ने गुनासोलाई आफूले गम्भीर रूपमा लिएको उनले उल्लेख गरेकी छन्।
उनले आफ्नो पहिलो निर्माण प्रयासमा कुनै पनि पेसा वा व्यक्तिको सम्मानमा ठेस पुर्याउने उद्देश्य नरहेको बताउँदै अन्जानमा भएको गल्तीप्रति नेपाल शिक्षक महासंघसहित सम्पूर्ण शिक्षक समुदायसँग क्षमायाचना गरेकी छन्। साथै, विवादित गीत युट्युब र आफ्ना सबै सामाजिक सञ्जालबाट हटाइसकिएको जानकारी दिँदै आगामी दिनमा यस्ता विषयमा थप जिम्मेवार र संवेदनशील रहने प्रतिबद्धता व्यक्त गरेकी छन्।
यस्तै, गायक दुर्गेश थापाले पनि गीतका शब्द र प्रस्तुतिका कारण शिक्षक तथा दर्शकको भावनामा चोट पुगेको स्वीकार गर्दै सार्वजनिक माफी मागेका छन्। फेसबुकमार्फत जारी गरेको विज्ञप्तिमा उनले कुनै पनि पेसा वा व्यक्तिको भावनामाथि चोट पुर्याउने उद्देश्य नरहेको उल्लेख गर्दै प्राप्त सुझाव र आलोचनालाई आत्मसात् गरी आफ्नो आधिकारिक युट्युब च्यानलबाट उक्त गीत हटाइसकेको बताएका छन्।
थापाले शिक्षकहरू समाजका मार्गदर्शक, प्रेरणाका स्रोत र सम्मानका पात्र भएको उल्लेख गर्दै आगामी दिनमा अझ जिम्मेवार, मर्यादित र उत्कृष्ट सिर्जना प्रस्तुत गर्ने प्रतिबद्धता जनाएका छन्।
उक्त गीत सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो। विशेषगरी शिक्षक समुदायले गीतमा प्रयोग भएका केही शब्द र दृश्यले शिक्षण पेसाको गरिमामाथि आँच पुर्याएको भन्दै आपत्ति जनाएका थिए। त्यसपछि नेपाल शिक्षक महासंघले समेत औपचारिक रूपमा विरोध जनाएको थियो। बढ्दो विवादपछि अन्ततः सम्बन्धित पक्षले गीत हटाउँदै सार्वजनिक रूपमा क्षमायाचना गरेका हुन्।









प्रतिक्रिया
आफ्नो प्रतिक्रिया दिनुहोस्