२०८३ भाद्र २८, आइतवार
15:14
काठमाडौं, नेपाल

भोटेकोशी बाढीः ३ हजार २९ जनाको उद्धार, १ हजार ५ सय ५८ जना बेपत्ता

नेपालबिहानी १२ दिन अगाडि

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा फसेका तथा अलपत्र परेका ३ हजार २९ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये २ हजार ७ सय ७६ जना नेपाली र २५३ जना विदेशी नागरिक रहेका छन्।

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार रसुवा र नुवाकोटका विभिन्न स्थानबाट उनीहरूको उद्धार गरिएको हो। पछिल्लो २४ घण्टामा मात्रै ६२४ जनाको उद्धार गरिएको जनाइएको छ।

बाढीमा परेर आफन्त सम्पर्कविहीन भएको भन्दै १ हजार ५ सय ५८ जनाको खोजतलासका लागि निवेदन परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। रसुवा र नुवाकोटका विभिन्न स्थानबाट आफन्त हराएको भन्दै परिवारले खोजीका लागि निवेदन दिएका हुन्।

हराइरहेका तथा बाढीमा फसेकाहरूको खोज तथा उद्धारका लागि हेलिकोप्टर, तालिमप्राप्त कुकुर र ड्रोन क्यामेरासहित संयुक्त सुरक्षा टोली परिचालन गरिएको छ। रसुवाको टिमुरे, स्याफ्रुबेँसी र मैलुङलगायत क्षेत्रमा अझै कोही फसेको हुनसक्ने आशंकामा हेलिकोप्टरबाट नियमित रेकी भइरहेको छ।

यद्यपि जलविद्युत् आयोजनाका सुरुङभित्र फसेको आशंका गरिएका व्यक्तिहरूको उद्धार अझै चुनौतीपूर्ण बनेको छ। सुरुङ क्षेत्रमा समेत उद्धार टोलीले खोजी तथा उद्धार प्रयासलाई तीव्रता दिएको छ।

यसैबीच, बाढीमा ज्यान गुमाएकामध्ये नुवाकोटमा मात्रै ९५ जनाको शव सङ्कलन गरिएको जनाइएको छ। सङ्कलित शव पहिचानका लागि तस्बिरसहितको विवरण सार्वजनिक गरिएको छ भने शव परीक्षणका लागि काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ।

भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा राहत कार्य जारी छ। सरकारी निकायले तथ्यांक संकलन तथा प्रमाणीकरणको कामसमेत गरिरहेकाले मृतक, बेपत्ता र उद्धार गरिएकाको संख्या थप अद्यावधिक हुन सक्ने जनाएको छ।

💬

प्रतिक्रिया

आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया छैन
आफ्नो प्रतिक्रिया दिनुहोस् तपाईंको विचार महत्वपूर्ण छ।

🔒 तपाईंको इमेल प्रकाशित गरिने छैन।