२०८३ भाद्र २८, आइतवार
17:47
काठमाडौं, नेपाल

काँग्रेसभित्र सुधारको आवाज उठाउनु गलत होइन, समयअनुकूल निर्णय आवश्यक: नेता मनिष मिश्र

नेपालबिहानी ३ महिना अगाडि
Nepal Bihani Khabar Advertisement

काठमाडौँ । नेपाली काँग्रेसका युवा नेता मनिष मिश्रले महामन्त्री गगन थापाको पछिल्लो राजनीतिक सक्रियता र ‘छटपटाहट’लाई सकारात्मक रूपमा चित्रण गरेका छन्। उनले थापालाई संघर्षशील, लोकतन्त्रप्रेमी तथा दूरदर्शी नेताका रूपमा उल्लेख गर्दै पार्टीभित्र उनले उठाएका प्रश्नहरू स्वाभाविक र समयसान्दर्भिक भएको बताएका हुन्।

नेता मिश्रले देशको वर्तमान राजनीतिक परिस्थिति, युवा आक्रोश र काँग्रेसको आन्तरिक सुधारका विषयमा टिप्पणी गर्दै महामन्त्री थापाको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे।

विद्यार्थी राजनीतिदेखि नेतृत्वसम्मको यात्रा
मिश्रका अनुसार विद्यार्थी राजनीतिबाट पार्टीको शीर्ष नेतृत्व तहसम्म आइपुग्न महामन्त्री थापाले ठूलो संघर्ष गरेका छन्। विशेष महाधिवेशन जस्ता अनेकौँ चुनौतीपूर्ण र जटिल अवस्थाहरू पार गर्दै उनले यो स्थान बनाएको उल्लेख गर्दै मिश्रले थापाले लिने निर्णयहरूलाई दीर्घकालीन सोचका साथ हेरिनुपर्ने धारणा राखे।

युवा आक्रोश र पार्टी सुधारको आवश्यकता
देशको कमजोर आर्थिक अवस्था, युवा पुस्तामा बढ्दो चरम निराशा र राजनीतिक नेतृत्वप्रतिको घट्दो जनविश्वासका बीच थापाले पार्टीभित्र सुधारको आवाज उठाउनु अपरिहार्य भइसकेको मिश्रको भनाइ छ। यस्तो विषम परिस्थितिमा सत्तारूढ दलभित्रैबाट नागरिकका आवाज र प्रश्नहरू उठाउनु जायज मात्र नभई प्रशंसनीय भएको उनले बताए।

काँग्रेसलाई पुनः जनविश्वास योग्य र लोकप्रिय बनाउन महामन्त्री थापा निरन्तर लागिपरेको चर्चा गर्दै मिश्रले अब पार्टीभित्र आन्तरिक एकता, पारदर्शिता र जिम्मेवार नेतृत्वको खाँचो रहेको औंल्याए। पुरानो र परम्परागत शैलीमा मात्रै अडिग रहनुभन्दा समयको मागअनुसार परिवर्तन र परिमार्जन हुनुपर्नेमा उनले जोड दिएका छन्।

समृद्धिका लागि काँग्रेसको अग्रसरता
नेपाली काँग्रेसले विगतमा विभिन्न राजनीतिक संकटहरू पार गर्दै देशमा लोकतन्त्र स्थापना गर्न अग्रणी भूमिका निर्वाह गरेको स्मरण गर्दै मिश्रले अब समृद्धिका लागि पनि पार्टीले अग्रसरता लिनुपर्ने समय आएको बताए। देशको यो विषम अवस्थामा काँग्रेसले पुनः अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ।

नेता मिश्रले काँग्रेसका सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई आन्तरिक मतभेद त्यागेर एकताबद्ध हुन आह्वान समेत गरे। अग्रज नेताहरूको अनुभव र युवा पुस्ताको ऊर्जालाई सँगसँगै समेटेर अघि बढे मात्रै पार्टी र देशले सही निकास पाउने विश्वास उनले व्यक्त गरे।

💬

प्रतिक्रिया

आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया छैन
आफ्नो प्रतिक्रिया दिनुहोस् तपाईंको विचार महत्वपूर्ण छ।

🔒 तपाईंको इमेल प्रकाशित गरिने छैन।