२०८३ भाद्र २८, आइतवार
17:03
काठमाडौं, नेपाल

सेयर बजारमा उत्साह: ५४ अंकको छलाङ मार्दा साढे २३ अर्बको कारोबार

नेपालबिहानी २ वर्ष अगाडि

काठमाडौं । साताको पहिलो दिन आइतबार धितोपत्र बजारमा ठूलो उत्साह देखिएको छ। नेप्से परिसूचक ५४.५१ अंकले वृद्धि भई २९३१ विन्दुमा पुगेको छ, जुन पछिल्लो आठ महिनायताकै उच्च विन्दु हो। गत बिहीबार ६४ अंकले बढेको बजारले आज पनि सोही गतिलाई निरन्तरता दिएको छ। बजार बढ्दा कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ; अघिल्लो कारोबार दिन २१ अर्ब २२ करोडको सेयर किनबेच भएकोमा आज त्यो अंक बढेर २३ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ। यो कारोबार रकम गत साउन यताकै उच्च हो।

Nepal Bihani Khabar Advertisement

आज कुल १८३ कम्पनीको सेयर मूल्य उकालो लाग्दा ७३ वटाको घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रह्यो। समूहगत परिसूचकतर्फ व्यापार समूहमा सामान्य गिरावट देखिए पनि अन्य सबै समूहमा हरियाली छाएको छ। विशेषगरी माइक्रोफाइनान्स समूह ४.२१ प्रतिशतले बढ्दा होटल तथा पर्यटन, बैंकिङ र निर्जीवन बीमा समूहमा पनि राम्रो वृद्धि देखिएको छ।

आज रिलायन्स स्पिनिङ मिल्स, कर्पोरेट डेभलपमेन्ट बैंक र विजय लघुवित्त लगायतका १० कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ। अर्कोतर्फ, सुपर मादी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन्। आज बजारमा कुमारी बैंक, नेसनल हाइड्रोपावर र शिवम् सिमेन्ट लगायतका कम्पनीको सर्वाधिक कारोबार भएको छ।

💬

प्रतिक्रिया

आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया छैन
आफ्नो प्रतिक्रिया दिनुहोस् तपाईंको विचार महत्वपूर्ण छ।

🔒 तपाईंको इमेल प्रकाशित गरिने छैन।