ओमानमा नेपाली उत्पादनको बजार विस्तार
नेपाल बिहानी खबर | साउन २८ गते, बिहीबार
काठमाडौं । नेपाली उत्पादन तथा सेवालाई खाडी मुलुक ओमानमा विस्तार गर्ने उद्देश्यले निर्यात व्यवसायी महासङ्घ र ओमानस्थित गैरआवासीय नेपाली सोसल क्लबबीच समझदारी भएको छ ।
मस्कटस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत विशेषकुमार साहको उपस्थितिमा आयोजित कार्यक्रममा महासङ्घका अध्यक्ष गोविन्दप्रसाद घिमिरे र क्लबका अध्यक्ष सुरेश खड्काले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
समझदारीअनुसार ओमानमा नेपाली निर्यातकर्तालाई स्थानीय साना तथा मझौला व्यवसायी, व्यापारी तथा सम्भावित खरिदकर्तासँग जोड्न दुवै संस्थाले सहजीकरण गर्नेछन् । यसले नेपाली उत्पादनका लागि नयाँ बजार र व्यापारिक सञ्जाल विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सम्झौतामा ‘मेड इन नेपाल’ उत्पादनको प्रवद्र्धनलाई प्राथमिकता दिइएको छ । ओमानमा आयोजना हुने सांस्कृतिक तथा सामुदायिक कार्यक्रममा नेपाली चिया, कफी, अलैँची, मसला, हस्तकला, फेल्ट, गार्मेन्ट, कार्पेट, जडीबुटीजन्य सामग्री तथा परम्परागत पोशाकको प्रदर्शनी र प्रवद्र्धनका लागि स्टल राखिने व्यवस्था गरिएको छ ।
त्यस्तै, ओमानको भन्सार प्रक्रिया, आयातसम्बन्धी मापदण्ड, गुणस्तर तथा हलाल प्रमाणीकरण र व्यापारिक नीतिबारे क्लबले महासङ्घलाई आवश्यक जानकारी तथा समन्वय उपलब्ध गराउनेछ ।









प्रतिक्रिया
आफ्नो प्रतिक्रिया दिनुहोस्