नेपाल बिहानी खबर | साउन २८ गते, बिहीबार
काठमाडौं । चीनमा विकसित प्रयोगात्मक म्याग्लेभ ट्रेनले स्थिर अवस्थाबाट ५.३ सेकेन्डमै ८०० किलोमिटर प्रतिघण्टाको गति हासिल गर्दै अति–उच्च गतिको प्रविधिमा नयाँ विश्व कीर्तिमान कायम गरेको छ।
हुबेई प्रान्तस्थित डोङ्हु प्रयोगशालाको करिब एक किलोमिटर लामो परीक्षण ट्र्याकमा १.१ टन तौलको उक्त ट्रेन परीक्षण गरिएको हो। चुम्बकीय शक्तिबाट ट्र्याकभन्दा माथि उठेर चल्ने म्याग्लेभ प्रविधिले घर्षण घटाउने भएकाले अत्यधिक तीव्र गतिमा पुग्न सम्भव भएको अनुसन्धानकर्ताहरूले बताएका छन्।
परीक्षणका क्रममा ट्रेनले ० बाट ८०० किलोमिटर प्रतिघण्टाको गति ५.३ सेकेन्डमा हासिल गरेपछि करिब २०० मिटरको दूरीमा नियन्त्रणपूर्वक ब्रेक लगाएर रोकिएको थियो। अनुसन्धानकर्ताहरूका अनुसार छोटो दूरीको म्याग्लेभ एक्सेलेरेसनमा पछिल्लो छ महिनाभित्र यस प्रविधिले तेस्रोपटक आफ्नै कीर्तिमान सुधार गरेको हो।
यसअघि सन् २०२५ जुनमा यही ट्रेनले करिब ७ सेकेन्डमा ६५० किलोमिटर प्रतिघण्टाको गति हासिल गरेको थियो। त्यसपछि ७०० र ७९८ किलोमिटर प्रतिघण्टाको एक्सेलेरेसन परीक्षण गर्दै नयाँ उपलब्धि थपिएको थियो।
चिनियाँ राष्ट्रिय प्रसारक सीसीटीभीका अनुसार परीक्षणमार्फत उच्च–शक्तिको ऊर्जा प्रवाह, इलेक्ट्रोम्याग्नेटिक प्रोपल्सन, उच्च गतिको लेभिटेसन नियन्त्रण तथा आपतकालीन ब्रेकिङ प्रणालीको क्षमता परीक्षण गरिएको छ।
हाल सञ्चालनमा रहेका व्यावसायिक म्याग्लेभ ट्रेनको गति भने यसभन्दा निकै कम छ। चीनको फुसिङ म्याग्लेभले करिब ३५० किलोमिटर प्रतिघण्टासम्मको गति हासिल गरेको बताइएको छ।
अनुसन्धानकर्ताहरूले यो प्रविधि तत्काल यात्रु ओसारपसारका लागि प्रयोग गर्ने उद्देश्य नभएको स्पष्ट गरेका छन्। यसको प्रविधिले भविष्यमा उच्च गतिको प्रक्षेपण प्रणाली, रकेट तथा अन्य अत्याधुनिक यातायात प्रणाली विकासमा सहयोग पुर्याउन सक्ने अपेक्षा गरिएको छ।
चीनले कम दबाब वा भ्याकुम ट्युबभित्र म्याग्लेभ सञ्चालन गर्ने प्रविधिमा समेत अनुसन्धान गरिरहेको छ। यद्यपि यस्तो प्रणालीलाई व्यावहारिक बनाउन उच्च पूर्वाधार लागत, यात्रु सुरक्षा, ऊर्जा व्यवस्थापन तथा लामो दूरीमा अत्यन्त सटीक ट्र्याक निर्माणजस्ता चुनौती कायमै छन्।
