दुई दशकको पत्रकारिताको कदर: गीता अधिकारीलाई नातिकाजी पुरस्कार
काठमाडौँ । विगत दुई दशकदेखि चलचित्र पत्रकारितामा सक्रिय सञ्चारकर्मी तथा गीतकार गीता अधिकारी ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ बाट सम्मानित हुनुभएको छ। शुक्रबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित एक विशेष समारोहका बीच सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले अधिकारीलाई उक्त पुरस्कार अर्पण गर्नुभएको हो।
हिमालय टाइम्स राष्ट्रिय दैनिक र मिलाप राष्ट्रिय मासिकमा आबद्ध अधिकारीलाई नगद राशिसहित पुरस्कृत गरिएको थियो। उहाँसँगै पत्रकार अनन्त वाग्लेलाई पनि सोही विधाको पुरस्कार प्रदान गरिएको थियो।

विभिन्न विधामा स्रष्टाहरू सम्मानित
नातिकाजी स्मृति समाजद्वारा आयोजित उक्त समारोहमा नेपाली सङ्गीत र कला क्षेत्रमा विशिष्ट योगदान पुर्याउने दर्जनौँ स्रष्टाहरूलाई विभिन्न श्रेणीमा सम्मान र पुरस्कार प्रदान गरियो:
- नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान: गीतकार नारायणकुमार आचार्य, साबु गदाल कार्की र वीरेन्द्र पाठक।
- नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान: शशी गुरुङ, गणेश पराजुली, जुजुकाजी रञ्जित, अष्ट लामा, डा. भीमार्जुन आचार्य र निर्वाण सिं गुरुङ।
- नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार: मनोज खड्का, रोशन गुरुङ, ताराप्रकाश लिम्बु, सरिता शाही, चाँद सिं र महेश्वरमान राजभण्डारी।
- नातिकाजी नव प्रतिभा पुरस्कार: विपना तामाङ, सहिमा श्रेष्ठ र सुरेश लामा।
- नातिकाजी राष्ट्रिय शास्त्रीय संगीत पुरस्कार: प्रमोद उपाध्याय।
सङ्गीत: सामाजिक चेतनाको माध्यम
कार्यक्रममा नातिकाजी स्मृति समाजका अध्यक्ष एवं वरिष्ठ सङ्गीतकार शम्भूजीत बाँसकोटाले नेपाली सङ्गीतका शिखर पुरुष नातिकाजी श्रेष्ठको योगदानको चर्चा गर्नुभयो। उहाँले भन्नुभयो, “नातिकाजीले सङ्गीतलाई केवल मनोरञ्जनको साधन मात्र नभई सामाजिक चेतना जगाउने एक शक्तिशाली माध्यमका रूपमा स्थापित गर्नुभएको थियो।”
बाँसकोटाले स्रष्टाहरूको पहिचान र प्रोत्साहनका लागि समाजले हरेक वर्ष यस्ता सम्मान कार्यक्रमहरू निरन्तर आयोजना गर्दै आएको जानकारी समेत दिनुभयो।

साङ्गीतिक माहोलमा सम्मान
पुरस्कार वितरण समारोहमा सम्मानित तथा पुरस्कृत कलाकर्मीहरूले स्वर्गीय नातिकाजी श्रेष्ठका कालजयी र चर्चित गीतहरू प्रत्यक्ष प्रस्तुत गरेका थिए, जसले शीतलनिवासको वातावरणलाई साङ्गीतिक बनाएको थियो।
नेपाली सङ्गीतको श्रीवृद्धिमा नातिकाजीको पदचिन्ह पछ्याउँदै अघि बढ्ने स्रष्टाहरूलाई राज्यको तर्फबाट राष्ट्रपतिले सम्मान गर्नुले नेपाली कला क्षेत्रको मानमर्दन भएको उपस्थित स्रष्टाहरूले बताएका छन्।









प्रतिक्रिया
आफ्नो प्रतिक्रिया दिनुहोस्