काठमाडौं, ८ जेठ। भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेज (नेक) र शैक्षिक परामर्श क्षेत्रमा स्थापित संस्था क्याम्ब्रिज काठमाडौंबीच शैक्षिक सहकार्यका लागि समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ। कलेजमा सूचना प्रविधि (आइटी) तथा कम्प्युटर विधामा अध्ययनरत विद्यार्थीहरूको क्षमता विकास गर्ने र उनीहरूलाई व्यावसायिक उद्योगसँग जोड्ने उद्देश्यले यो सम्झौता गरिएको हो।
मुनाफारहित सामाजिक संस्थाका रूपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरूले अब यो समझदारीसँगै क्याम्ब्रिजमा व्यावहारिक अनुभवका लागि इन्टर्नशिपको अवसर पाउनेछन्। क्याम्ब्रिजले विद्यार्थीहरूलाई तीन महिनाको विशेष इन्टर्नशिप कार्यक्रम प्रदान गर्नेछ, जसमा डिजिटल मार्केटिङ, वेबसाइट व्यवस्थापन, सूचना प्रविधि (आईटी), डिजिटल मिडिया सञ्चालन तथा व्यावसायिक सञ्चार र कम्युनिकेशन स्किल विकास सम्बन्धी व्यावहारिक प्रशिक्षण समावेश हुनेछन्।
कलेजको कम्प्युटर इन्जिनियरिङ विभागकी विभागीय प्रमुख अंशु घिमिरे र क्याम्ब्रिजका संस्थापक निर्देशक शिशिर सिंखडाले बिहीबार आयोजित एक कार्यक्रमका बीच एमओयू पत्रमा हस्ताक्षर गर्नुभएको हो। सम्झौतापछि दुवै संस्थाका प्रतिनिधिहरूले यो सहकार्यले विद्यार्थीहरूको सैद्धान्तिक अध्ययन र व्यावहारिक सिकाइको अन्तरलाई कम गर्न ठूलो टेवा पुर्याउने विश्वास व्यक्त गरेका छन्।
हस्ताक्षर कार्यक्रममा बोल्दै क्याम्ब्रिजका प्रबन्ध निर्देशक शिशिर सिंखडाले आफूहरूले विदेश अध्ययन (अब्रोड स्टडी) का लागि परामर्श दिने गरे तापनि स्वदेशी शिक्षा र शिक्षण संस्थालाई सधैं प्राथमिकतामा राखेको बताउनुभयो। नेपालको इन्जिनियरिङ शिक्षाको विकास र दक्ष जनशक्ति उत्पादनमा नेपाल इन्जिनियरिङ कलेजले पुर्याएको योगदानको चर्चा गर्दै उहाँले सरकारले स्वदेशी शिक्षण संस्थाहरूको विकासका लागि ठोस योजना ल्याउनुपर्नेमा जोड दिनुभयो।
त्यसैगरी कलेजकी कम्प्युटर इन्जिनियरिङ विभाग प्रमुख अंशु घिमिरेले कम्प्युटर र इन्जिनियरिङका विभिन्न विधा अध्ययनका लागि नेपाल इन्जिनियरिङ कलेज एक उत्कृष्ट र भरपर्दो गन्तव्य रहेको दाबी गर्नुभयो। उहाँले विद्यार्थीहरूको ज्ञान र शिक्षाको दायरालाई फराकिलो बनाउन तथा बजारको मागअनुसार दक्ष बनाउन कलेज सदैव नयाँ सहकार्यका लागि तत्पर रहेको उल्लेख गर्नुभयो।
विद्यार्थी जीवनबाटै उद्योग र व्यावसायिक क्षेत्रको वास्तविक अनुभव हासिल गराउन कलेजले विगतदेखि नै विभिन्न व्यावसायिक र औद्योगिक संस्थाहरूसँग सहकार्य गर्दै आइरहेको छ। पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजमा इन्जिनियरिङ विधाका विभिन्न विषयहरूमा स्नातक तथा स्नातकोत्तर तहसम्मको गुणस्तरीय अध्यापन हुँदै आएको छ।
