गर्मीको समयमा शरीरलाई शीतल राख्नका लागि प्रायः सबैले हल्का र सजिलै पच्ने खानेकुरालाई प्राथमिकता दिन्छन्। तापक्रम बढेको बेला शरीरलाई शीतल बनाउने उपायहरू अपनाउनु स्वास्थ्यका हिसाबले उपयुक्त मानिन्छ। यद्यपि, केही व्यक्तिहरू जुनसुकै मौसममा पनि आफ्नो रुचिको खानेकुरा खान पछि हट्दैनन्, विशेष गरी मासुबिना खाना नरुचाउनेहरूको संख्या ठूलो छ। यस्तो अवस्थामा स्वास्थ्य विज्ञहरूले गर्मीमा विशेष गरी चिकेन र मटन जस्ता मासुको सेवन गर्दा निकै सावधानी अपनाउनुपर्ने सुझाव दिएका छन् । मासु सेवन गर्दा किन सावधान हुने?
स्वास्थ्य विज्ञहरूका अनुसार, चिकेन र मटनमा प्रोटिन र बोसोको मात्रा बढी हुन्छ, जसलाई पचाउन शरीरले निकै मेहनत गर्नुपर्छ। गर्मीमा दिउँसोको समयमा यस्ता खानेकुरा खानु स्वास्थ्यका लागि त्यति फाइदाजनक नहुने विज्ञहरूको भनाइ छ। यसले शरीरमा निम्त्याउन सक्ने मुख्य समस्याहरू यस प्रकार छन्:
शरीरको तापक्रम वृद्धि (थर्मोजेनेसिस): प्रोटिनयुक्त मासु पचाउने प्रक्रियामा शरीरले बोसो वा कार्बोहाइड्रेटभन्दा बढी ऊर्जा खर्च गर्नुपर्छ, जसलाई ‘थर्मोजेनेसिस’ भनिन्छ। यो प्रक्रियाले शरीरभित्र अत्यधिक ताप उत्पन्न गराउँछ। दिउँसो मासु खाँदा शरीरको तापक्रम अचानक बढ्न गई पसिना आउने र बेचैनी हुने समस्या हुन सक्छ। पाचनमा समस्या: गर्मीमा हाम्रो मेटाबोलिज्म (पाचन क्रिया) सुस्त हुन्छ। रातो मासु (मटन) मा पाइने उच्च ‘स्याचुरेटड फ्याट’ पचाउन लामो समय लाग्छ। चर्को घाममा यस्तो मासु खाँदा पेट भारी हुने, एसिडिटी बढ्ने, पेट फुल्ने र अपच हुने समस्या निम्तिन सक्छ।
डिहाइड्रेसनको जोखिम: मासु पचाउन शरीरलाई पर्याप्त पानीको आवश्यक पर्छ। मेटाबोलिज्म तीव्र हुँदा शरीरमा पानीको कमी (डिहाइड्रेसन) छिटो हुन्छ। यदि मासु खाँदा पर्याप्त पानी पिइएन भने चक्कर लाग्ने, कमजोरी हुने र पिसाब संक्रमण (UTI) जस्ता जटिलताहरू देखा पर्न सक्छन्। कसरी सुरक्षित रहने? यदि तपाईँ मासुको पारखी हुनुहुन्छ र गर्मीमा पनि यसको सेवन गर्न चाहनुहुन्छ भने, स्वास्थ्यलाई जोखिममा नपार्न निम्न उपायहरू अपनाउन सकिन्छ:
खाने समयको व्यवस्था: मासु खानु परेमा बेलुकाको समयमा खानु उपयुक्त हुन्छ र सुत्नुभन्दा कम्तीमा २-३ घण्टा अगाडि नै खाइसक्नु राम्रो हुन्छ। पकाउने विधि: मासु तयार गर्दा कडा मसला र अतिरिक्त तेलको प्रयोग गर्नुहुँदैन। उचित छनोट: गर्मीमा खसीको जस्तो रातो मासु नखानु नै उत्तम हुन्छ। यसको सट्टामा दिउँसोको खानामा हल्का ग्रिल गरिएको चिकेन वा चिकेनको सुप जस्ता तरल र हल्का परिकारहरूको छनोट गर्नु फाइदाजनक हुन्छ।
