काठमाडौं । भदौ १८, २०८३ । रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा जनस्वास्थ्य संकटको जोखिम बढेको भन्दै चिकित्सकहरूले तत्काल सावधानी अपनाउन आग्रह गरेका छन्। बाढीका कारण खानेपानी तथा सरसफाइ प्रणालीमा परेको असर, विस्थापन र स्वास्थ्य सेवा प्रभावित हुँदा विभिन्न संक्रामक रोग फैलिन सक्ने जोखिम रहेको उनीहरूको भनाइ छ।
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. अमित गौलीका अनुसार बाढीपछि दूषित पानी तथा अस्वस्थ खानपानका कारण झाडापखालालगायत पेटसम्बन्धी रोग बढ्न सक्छन्। यस्तै, चिसो, ओसिलो वातावरण र भीडभाडका कारण श्वासप्रश्वाससम्बन्धी समस्या पनि बढ्न सक्ने भएकाले प्रभावितको स्वास्थ्य अवस्थालाई नियमित निगरानीमा राख्न आवश्यक छ।
बाढीका क्रममा घाइते भएका व्यक्तिमा घाउमा संक्रमण हुने सम्भावना समेत उच्च हुने भएकाले सामान्य चोटपटकलाई समेत बेवास्ता नगरी समयमै उपचार गर्न चिकित्सकले सुझाव दिएका छन्।
विपद्को अवस्थामा मधुमेह, उच्च रक्तचाप, दम तथा क्यान्सरजस्ता दीर्घरोग भएका बिरामी थप जोखिममा पर्न सक्ने डा. गौलीको भनाइ छ। नियमित सेवन गर्नुपर्ने औषधि छुट्नुका साथै नयाँ संक्रमण थपिँदा यस्ता बिरामीको अवस्था जटिल बन्न सक्ने भएकाले आवश्यक औषधिको निरन्तर व्यवस्था गर्नुपर्ने उनले बताएका छन्।
बाढीबाट विस्थापित भएका तथा आफन्त गुमाएका नागरिकको मानसिक स्वास्थ्यलाई पनि प्राथमिकतामा राख्नुपर्ने चिकित्सकहरूको सुझाव छ। घरबारविहीन अवस्था, आफन्तसँगको बिछोड र लामो समयसम्मको अनिश्चितताले मानसिक तनाव बढाउन सक्ने भएकाले प्रभावित क्षेत्रमा मनोसामाजिक परामर्श सेवा पुर्याउन आवश्यक रहेको उनीहरूको भनाइ छ।
चिकित्सकहरूले ज्वरो वा सामान्य स्वास्थ्य समस्या देखिनेबित्तिकै आफूखुसी एन्टिबायोटिक प्रयोग नगर्न पनि आग्रह गरेका छन्। प्रभावित क्षेत्रमा जीवनजल, सिटामोल, स्लाइन, ड्रेसिङ तथा आवश्यक प्राथमिक उपचार सामग्री पर्याप्त मात्रामा उपलब्ध गराउनुपर्ने उनीहरूको सुझाव छ।
बाढी प्रभावित क्षेत्रमा तत्काल आधारभूत स्वास्थ्य सेवा विस्तार गर्न संघीय, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको चिकित्सकहरूले बताएका छन्। स्वास्थ्य जोखिमलाई समयमै पहिचान गरी रोगको निगरानी र उपचारको व्यवस्था गर्न नसके बाढीपछि अर्को जनस्वास्थ्य संकट निम्तिन सक्ने उनीहरूको चेतावनी छ।
विश्व स्वास्थ्य संगठन (WHO) ले पनि रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा र तनहुँमा बाढीको प्रभाव परेको तथा स्वास्थ्य चौकी, अस्पताल र स्वास्थ्य सेवाको पहुँचमा क्षति पुगेको जनाएको छ। विस्थापन, खानेपानी तथा सरसफाइ प्रणालीमा आएको अवरोध र स्वास्थ्य सेवाको प्रभावित अवस्थाले संक्रामक रोग, चोटपटक तथा मानसिक स्वास्थ्यसम्बन्धी समस्या बढाउन सक्ने WHO को आकलन छ।

बाढीको मानवीय क्षति अझै भयावह
यसैबीच, भोटेकोशी बाढीबाट भएको मानवीय क्षतिको विवरण अझै भयावह देखिएको छ। पछिल्लो विवरणअनुसार विभिन्न जिल्लाबाट १ हजार २०० भन्दा बढी शव फेला परिसकेका छन्। पछिल्लो सार्वजनिक विवरणमा रसुवामा ११५, नुवाकोटमा १५५, धादिङमा ६०, गोरखामा ६९, नवलपरासी पूर्वमा २१७, नवलपरासी पश्चिममा २०२, तनहुँमा ३८ र चितवनमा ३४८ जनाको शव फेला परेको उल्लेख छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ४ हजार २१६ जना अझै सम्पर्कविहीन छन्। तीमध्ये विदेशी नागरिक पनि ठूलो संख्यामा रहेका छन्। बाढी प्रभावित क्षेत्रबाट हालसम्म करिब १२ हजार जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये केहीलाई रसुवा, नुवाकोट, धादिङ र काठमाडौंका विभिन्न स्थानमा स्थापना गरिएका होल्डिङ सेन्टरमा राखिएको छ।
खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइएको भए पनि बाढीले सडक, पुल, बस्ती तथा अन्य भौतिक संरचनामा पुर्याएको क्षतिका कारण कतिपय क्षेत्रमा उद्धार र खोजी कार्य चुनौतीपूर्ण बनेको छ।
हराइरहेका व्यक्तिको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका २१ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। सुरक्षाकर्मीले नदी किनार, जलविद्युत् आयोजना, बाढी प्रभावित बस्ती, सडक तथा पहिरो प्रभावित क्षेत्रमा खोजीलाई निरन्तरता दिएका छन्।
बाढीपछिको उद्धारसँगै अब प्रभावित नागरिकको स्वास्थ्य सुरक्षा, सुरक्षित खानेपानी, सरसफाइ, खाद्य सुरक्षा र मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर पुनःस्थापनाको काम अघि बढाउनुपर्ने देखिएको छ।
