२०८३ भाद्र २८, आइतवार
15:13
काठमाडौं, नेपाल

बाढीमा ज्यान गुमाउने सशस्त्र प्रहरीका परिवारलाई २५ लाख, उद्धार कोषमा १५ करोड ५० लाख

नेपालबिहानी ९ दिन अगाडि

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका सशस्त्र प्रहरी कर्मचारीका परिवारलाई सशस्त्र प्रहरी बल नेपालले तत्काल २५ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलको अध्यक्षतामा बिहीबार बसेको परामर्श समितिको बैठकले बाढीबाट प्रभावित आफ्ना कर्मचारी तथा परिवारका लागि राहत तथा सहयोगका विभिन्न कार्यक्रम घोषणा गरेको हो ।

संगठनले बाढी तथा विपद्बाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ करोड ५० लाख रुपैयाँ योगदान गर्ने निर्णयसमेत गरेको छ ।

उक्त रकम सशस्त्र प्रहरी कर्मचारीको तलबबाट निश्चित दिन बराबरको रकम योगदान गरी जुटाइनेछ। निर्णयअनुसार महानिरीक्षक तथा अतिरिक्त महानिरीक्षकले १५ दिन, नायव महानिरीक्षक तथा वरिष्ठ उपरीक्षकले १२ दिन, उपरीक्षक, नायव उपरीक्षक र निरीक्षकले १० दिन, जुनियर अधिकृतले ७ दिन, वरिष्ठ हवल्दारदेखि जवानसम्मले ५ दिन तथा परिचरले ३ दिन बराबरको तलब योगदान गर्नेछन्।

तर बाढीका दिन बीओपी टिमुरे र सुरक्षा बेस मैलुङमा कार्यरत रही ज्यान जोगाउन सफल भएका सशस्त्र प्रहरी कर्मचारीको तलबबाट भने उक्त रकम कट्टा नगरिने भएको छ।

मृतक कर्मचारीका परिवारलाई थप सुविधा

सशस्त्र प्रहरीले बाढीमा वीरगति प्राप्त गरेका कर्मचारीका आश्रित परिवारलाई आर्थिक सहयोगसँगै अन्य सुविधा पनि उपलब्ध गराउने निर्णय गरेको छ।

मृतक कर्मचारीका परिवारलाई राष्ट्रसेवकहरूको तर्फबाट १५ लाख तथा सम्बन्धित सरकारी कार्यविधि र सशस्त्र प्रहरीको विपद् राहतसम्बन्धी मापदण्डअनुसार थप १० लाख गरी कुल २५ लाख रुपैयाँ तत्काल उपलब्ध गराइनेछ

त्यस्तै, मृतक कर्मचारीले कल्याण कोषबाट लिएको र तिर्न बाँकी रहेको सम्पूर्ण ऋण मिनाहा गरिने भएको छ।

मृतकका सन्तानलाई पायक पर्ने नेपाल एपीएफ स्कुलमा कक्षा १० सम्म अध्ययनका लागि शैक्षिक शुल्क छुट दिने निर्णयसमेत गरिएको छ।

परिवारका सदस्यलाई पनि राहत

बाढीका कारण सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारका कुनै सदस्यको मृत्यु भएमा प्रतिव्यक्ति १ लाख रुपैयाँ तत्काल राहत उपलब्ध गराइने भएको छ।

मृतक कर्मचारीका आश्रित परिवारमध्ये एक–एक जना सदस्यलाई स्वरोजगारमा सहयोग पुग्ने गरी सीपमूलक तालिम प्रदान गर्ने निर्णय पनि गरिएको छ।

ज्यान जोगाउन सफल पाँच कर्मचारीलाई पुरस्कार

बाढीमा परी जोखिमपूर्ण अवस्थामा पनि ज्यान जोगाउन सफल भएका पाँच जना सशस्त्र प्रहरी कर्मचारीलाई प्रोत्साहनस्वरूप जनही ५० हजार रुपैयाँ उपलब्ध गराइने भएको छ।

बाढीमा ज्यान गुमाएका सशस्त्र प्रहरी कर्मचारीको योगदानको सम्मानस्वरूप संगठनले उपयुक्त स्थानमा स्मारक निर्माण गर्ने निर्णयसमेत गरेको छ।

अवकाशप्राप्त कर्मचारीलाई पनि सहयोग

बाढीबाट प्रभावित अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीका लागि समेत राहतको व्यवस्था गरिएको छ।

बाढीका कारण मृत्यु भएमा १ लाख रुपैयाँ, घरबारविहीन भएमा १ लाख रुपैयाँ तथा आंशिक भौतिक क्षति भएका वा घाइते भएमा ५० हजार रुपैयाँसम्म तत्काल राहत उपलब्ध गराउने निर्णय गरिएको छ।

भोटेकोशी बाढीपछि उद्धार तथा खोजी कार्यमा सुरक्षा निकाय ठूलो संख्यामा परिचालन भइरहेका बेला सशस्त्र प्रहरी बलको यो निर्णयले विपद्मा अग्रपंक्तिमा खटिएका कर्मचारीसँगै उनीहरूका आश्रित परिवारको राहत र सामाजिक सुरक्षालाई समेत प्राथमिकता दिएको देखिन्छ।

💬

प्रतिक्रिया

आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया छैन
आफ्नो प्रतिक्रिया दिनुहोस् तपाईंको विचार महत्वपूर्ण छ।

🔒 तपाईंको इमेल प्रकाशित गरिने छैन।