प्रधानमन्त्री बालेनको ‘कालो चस्मा’ मोह र रास्वपामा बढेको ‘क्रेज’
चितवन, असार २५ गते नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला आफ्नो साहित्यिक कृति ‘दोषी चस्मा’ र कालो चस्माप्रतिको लगावका लागि स्मरण गरिन्छन्। तत्कालीन समाजको विसंगतिलाई चस्माधारी पात्रमार्फत उजागर गर्ने बीपीको त्यो शैली झल्किने गरी वर्तमान प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको लवाइखुवाइ र शैलीले यतिबेला चर्चा पाएको छ।
२०८२ चैत १३ गते प्रधानमन्त्रीको कार्यभार सम्हाल्नुभएका बालेन औपचारिक कार्यक्रमदेखि शपथ ग्रहण समारोहसम्म कालो चस्मामा नै देखिन्छन्। प्रधानमन्त्रीको सचिवालयले सार्वजनिक गर्ने आधिकारिक तस्बिरहरूमा समेत उनको यो विशिष्ट पहिचान यथावत् छ। बीपी कोइराला र बालेनबीचको यस अनौपचारिक समानताले धेरैको ध्यान तानेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा सहभागी हुन पत्नी र छोरीसहित चितवन पुग्नुभएका प्रधानमन्त्री बालेनको उपस्थितिले पार्टीमा नयाँ तरंग पैदा गरेको छ। पार्टीका औपचारिक बैठक वा प्रशिक्षणमा नदेखिए पनि उनको चितवन आगमनले उनी सक्रिय राजनीतिमा उत्तिकै केन्द्रित रहेको सन्देश दिएको छ।
प्रधानमन्त्री बालेनको ‘कालो चस्मा’ मोहको प्रभाव रास्वपाका अन्य नेताहरूमा पनि प्रस्ट देखिएको छ। गृहमन्त्री सुधन गुरुङ र पर्यटनमन्त्री खड्गराज पौडेललगायतका मन्त्रीहरू समेत कालो चस्मामा देखिन थालेका छन्। रास्वपाका अन्य नेता-कार्यकर्तामा पनि यो फेसनको प्रभाव बढ्दो छ, जसले गर्दा महाधिवेशन स्थलमा कालो चस्मा लगाउनेहरूको ठुलो जमात देखिएको छ। यद्यपि, पार्टी सभापति रवि लामिछाने भने खुला आँखाले नै संवाद गरिरहेका छन्।
इतिहास हेर्ने हो भने १२औँ शताब्दीमा चीनका न्यायाधीशहरूले सुनुवाइका क्रममा आफ्नो अनुहारको भाव लुकाउन कालो चस्माको प्रयोग गरेका थिए। १८औँ शताब्दीमा जेम्स ऐस्कफले रंगीन लेन्सको आविष्कार गरेपछि यसले फेसनको रूप लिन थाल्यो। १९३० को दशकमा पाइलटहरूका लागि निर्मित ‘एभिएटर’ र १९५६ मा रे-ब्यानले ल्याएको ‘वेफेयरर’ मोडलले यसलाई विश्वव्यापी फेसनको प्रतीक बनायो।
सामान्यतया विशिष्ट व्यक्तिहरूले जनतासँग संवाद गर्दा आँखाको माध्यमबाट भाव प्रकट गर्नुपर्ने मान्यता छ। त्यसैले विश्वका धेरैजसो नेताहरू औपचारिक कार्यक्रममा कालो चस्मा लगाउँदैनन्। सुरक्षाकर्मीहरूले भने आफ्नो दृष्टि लुकाउन र क्यामेराको प्रकाशबाट बच्न यस्तो चस्मा प्रयोग गर्छन्। तर, पछिल्लो समय विशिष्ट व्यक्तिहरू नै रातको समयमा समेत कालो चस्मामा देखिनुलाई कतिपयले अस्वभाविक मान्ने गरेका छन्।
रास्वपाको यो महाधिवेशनले कति जना ‘कालो चस्माधारी’ नेताहरूलाई नेतृत्वमा पुर्याउँछ, त्यो भने महाधिवेशनको नतिजापछि नै स्पष्ट हुनेछ।









प्रतिक्रिया
आफ्नो प्रतिक्रिया दिनुहोस्