२०८३ भाद्र २९, सोमवार
20:25
काठमाडौं, नेपाल

पेट्रोलियम पदार्थको खरिद मूल्य बढ्यो, उपभोक्ताको मूल्य नबढाउने निगमको निर्णय

नेपालबिहानी १२ दिन अगाडि

१५ दिनमा १ अर्ब २४ करोड ५७ लाख रुपैयाँ घाटा हुने अनुमान

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आए पनि नेपाल आयल निगमले तत्काल उपभोक्ताका लागि इन्धनको खुद्रा बिक्री मूल्य नबढाउने निर्णय गरेको छ।

भोटेकोसी नदीमा आएको असाधारण बाढी तथा त्यसबाट उत्पन्न विषम परिस्थितिलाई ध्यानमा राख्दै निगम सञ्चालक समितिले हाल कायम रहेको खुद्रा बिक्री मूल्यलाई यथावत् राख्ने निर्णय गरेको हो।

आईओसीबाट भदौ १५ गते प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ ३४ पैसा, डिजेलमा ४ रुपैयाँ ३३ पैसा, मट्टितेलमा १० रुपैयाँ १९ पैसा र हवाई इन्धनमा ४ रुपैयाँ ९६ पैसाले मूल्य बढेर आएको छ। यस्तै, खाना पकाउने एलपी ग्यासको खरिद मूल्य प्रतिसिलिन्डर ३५ रुपैयाँ ६२ पैसाले बढेको निगमले जनाएको छ।

खरिद मूल्य बढेपछि स्वचालित मूल्य प्रणालीअनुसार नेपालमा पनि इन्धनको बिक्री मूल्य समायोजन गर्नुपर्ने अवस्था भए पनि बाढीपहिरोका कारण नागरिकले भोगिरहेको कठिन परिस्थितिलाई मध्यनजर गर्दै निगमले तत्काल मूल्य नबढाउने निर्णय गरेको हो।

निगमका अनुसार भदौ १७ गते राति १२ः०१ बजे (००ः०१) देखि लागू हुने गरी पेट्रोलियम पदार्थको साविककै खुद्रा बिक्री मूल्य कायम राखिएको छ। पोखरा र भैरहवाका लागि बिक्री हुने अन्तर्राष्ट्रिय हवाई इन्धन भने ‘ब्रेकइभेन पोइन्ट’ अर्थात् नाफा–नोक्सान बराबर हुने मूल्यमा बिक्री गरिनेछ।

खरिद मूल्य बढे पनि उपभोक्तामाथि तत्काल थप भार नपार्ने निर्णयका कारण निगमको वित्तीय दायित्व भने बढ्ने भएको छ। निगमका अनुसार हालको बिक्री मूल्य यथावत् राख्दा आगामी १५ दिनमा करिब १ अर्ब २४ करोड ५७ लाख रुपैयाँ घाटा हुने अनुमान गरिएको छ।

नेपाल आयल निगमले हाल कायम गरेको मूल्यअनुसार काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल तथा डिजेल/मट्टितेलको खुद्रा मूल्य प्रतिलिटर २०० रुपैयाँ छ। अन्य क्षेत्रमा दूरीअनुसार फरक मूल्य कायम छ।

💬

प्रतिक्रिया

आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया छैन
आफ्नो प्रतिक्रिया दिनुहोस् तपाईंको विचार महत्वपूर्ण छ।

🔒 तपाईंको इमेल प्रकाशित गरिने छैन।